देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूकम्प पीडितको व्यथाः सुत्केरीको वास दिउँसो त्रिपालमा, राति छाप्रोमा

देशान्तर

बनेपा। भूकम्पका कारण आफ्नो वासस्थानबाट विस्थापित भएका सुत्केरी महिला चिसोबाट बच्न परम्परागत छाप्रोमा बस्न थालेका छन् । 

मङ्सिरको पहिलो साता सुत्केरी भएकी पोखरीचौरी गाविस वडा नं ६ की कमला गौतम खर, पराल, छ्वाली, रुखका हाँगाबिँगा र स्याउलाले बारेर निर्माण गरेको परम्परागत छाप्रोमा बस्न थालेकी हुन् । 

दिउँसो घाम हुँदा त्रिपालभित्रै बसेका छौँ तर राति सुत्नका लागि त्यही छाप्रोमा बसेका छौँ, उनले भनिन् । 

सुत्केरी हुनुअघिको अवस्था पनि कष्टकर भएको उल्लेख गर्दै उनले बच्चालाई पनि चिसोको समस्याका कारण औषधि गरेको बताइन् । 

अहिले सबैभन्दा बढी समस्या वृद्धवृद्धा र बालबालिकालाई भएको जानकारी दिँदै गौतमले भूकम्पपीडितका लागि राहत आए पनि प्रभावकारी हुन नसकेको गुनासो गरिन् । 

ठाउँ नभएकाले भैँसी राखेको कटेरो नजिकै सुत्केरी अवस्थाकी गौतम चिसोबाट बच्न सो छाप्रोमा बसेकी हुन् । 

भूकम्पका कारण छ महिनादेखि आफ्नो वासस्थानबाट विस्थापित भएका पोखरीचौरी वडा नं ६ र ७ का ५५ घरपरिवार बासिन्दा स्थानीय चौतारोडाँडामा बसेका छन् । सरकारले बस्ती नै सारेपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको हो । 

भूकम्पपीडित आवास व्यवस्थापन समिति, पोखरीचौरीका अध्यक्ष उद्धव गौतमले सरकारले प्रदान गरेको त्रिपाल चिसोको समयमा उपयोग नभएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धा चिसोका कारण त्रिपालमा नसुतेको बताए । 

चिसोका कारण बालबालिका र वृद्धवृद्धा निमोनिया र दम रोगबाट ग्रसित हुन थालेका छन्, उनले सुनाए । 

अध्यक्ष गौतमले दैवी प्रकोप तथा उद्धार समितिले विस्थापित भएर गएको ठाउँमा बसेका कारण लाग्ने भाडा रु १०० भूकम्पपीडितले नै आफै  तिर्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै वृद्धवृद्धालाई ओढ्ने सिरक नभएर राति पनि आगो बालेर त्यसको छेउमा सुत्ने गरेको बताए । 

उनले आफ्नो वासस्थान सरेपछि बस्तुभाउ पनि सँगै ल्याउँदा चिसोका कारण बिरामी पर्न थालेको उल्लेख गर्दै औषधि खुवाउँदा खुवाउँदा हैरान हुन भएको बताए । 

हामीलाई अहिले ओढ्ने र ओछ्याउनेकै समस्या छ, उनले भने । 

]]>