देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज मकर संक्रान्ति, दिनभन्दा रात छोटो हुँदै

देशान्तर

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ। माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ।  

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। ‘सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण उत्तम हुन्छ’  उनले भने। 

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पूण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ। स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पूण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।  

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।  

]]>