देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मध्यपहाडी लोकमार्गको सडक निर्माण कार्य अलपत्र

देशान्तर

जाजरकोट। मध्य पहाडी लोकमार्ग निर्माणको  जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा जाजरकोट खण्डको निर्माणकार्य  अलपत्र परेको छ। 

जाजरकोटको कुदुदेखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर सडक निर्माणको काम अलपत्र भएको छ । दुई वर्षभित्र यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाएको पश्चिम लोकमार्ग आयोजना ठेकेदारका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । 

जिल्लाको कुदुदेखि दैलेखको सुयाडासम्मको ८२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम विभिन्न ठाउँमा अलपत्र छ । स्तरोन्नतिको काम पनि अगाडि बढ्न सकेको छैन । बीस किलोमिटर बढी सडक निर्माणको जिम्मा लिएका तीनवटा निर्माण कम्पनीले सम्झौताअनुसारको काम पाँच वर्षदेखि नगरेका कारण सडक निर्माणको कार्य अलपत्र परेको आयोजना कार्यालय तुल्सीपुर दाङले जनाएको छ । 

आयोजनाको जगतीपुरको कुदुदेखि दसेरा र झाप्रा गाविसको सिमानामा पर्ने थलह बजारसम्मको सडक निर्माणको काम अहिले रोकिएको छ । कार्कीगाउँदेखि झाप्रा गाविसको बीचमा सडकको ट्रयाक नै खुलेको छैन । सडक निर्माणको काम रोकिएपछि सर्वसाधारण मात्र होइन, सरकारी लक्ष्यसमेत अप्ठ्यारोमा परेको छ । निर्माण कम्पनीमध्ये स्पेक्स खानी धुलिखेल जेभी, कन्काइ कविर थापा जेभी तथा अनक रोड एन्ड व्रिज कविर जेभीले जिम्मा लिएको काम रोकिएको आयोजनाले जनाएको छ । 

अर्काको फर्म लिएर काम सुरु गर्ने पछि बीचमै कामै छोडेर भाग्ने चलनका कारण आयोजनाको काम अल्झिएको हो । स्पेक्स खानी धुलिखेल जेभीको फर्म खलङ्गा–२ का प्रकाशजंग शाहले लिएर काम सुरु गरेको तथा अन्य दुई वटा फर्म कविर थापा र गोरे तामाङले प्रयोग गरेर काम गरेका थिए । शाहले झाप्रा विद्यालयदेखि थलह बजारसम्म पाँच किलोमिटर, थापाले कुदुदेखि चौखे ढुङ्गासम्म साढे आठ किलो मिटर र तामाङले दसेराको वडावनदेखि जेवासम्मको साढे पाँच किमी सडक निर्माणको जिम्मा लिएका थिए । 

उनीहरुमध्ये शाहले पाँच वर्षदेखि काम नगरेको र अन्य दुई जनाले तीन वर्षदेखि कामै नछोएको आयोजनाले जनाएको छ । 

एक पटक सम्झौता गरेपछि त्यसको म्याद १५ महिनाको हुने गरे पनि लामो समय काम छोड्ने माथि कुनै कारबाही नभएको सरोकारवालाहरुको गुणासो रहेको छ ।  पटकपटक ताकेता र फर्म कालो सूचीमा राख्ने चेतावनी दिएपछि केही समयपछि काम सुरु गर्ने गरी वाचा गर्ने गरेका छन् । 

ठेकेदारलाई कालो सूचीमा राख्न ताकेता गर्ने तथा चेतावनी दिनेबाहेक केही गर्न नसकिने आयोजनाको भनाइ छ । जाजरकोटको भूभागभित्र ८२ किलोमिटर सडक निर्माणका लागि विभिन्न १५ वटा निर्माण कम्पनीले काम गरिरहेको र तीमध्ये तीन वटाले चार वर्षदेखि काम छोडेका कारण पूरै योजना अलपत्र पर्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ । जिल्लामा एक दर्जन गाविसमा सडक पहुँच पु¥याउन रु ५६ करोड बजेट विनियोजन भएपनि काम पूरा हुन सकेको छैन । 

सरकारले गल्ती गर्नेलाई कारबाही गर्न नसकेका कारण ठेकेदारले बेइमानी गरेको आयोजनाको आरोप छ । जनताको नाममा आएको बजेट र कार्यक्रम गलत नियत राख्नेहरुबाट बर्सेनि दुरुपयोग हुने र योजना अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । 

]]>