देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुठीको जग्गामा चलखेल !

देशान्तर

पोखरा । पोखराको नदीपुरस्थित नारायणस्थान तैनाथी गुठीको जग्गा रातारात व्यक्ति विशेषमा नामसारी गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ । 

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले आज यहाँ पत्रकार सम्मेलन गरी गुठीको करोडौँ मूल्य पर्ने विभिन्न ठाउँमा रहेको ६० रोपनीभन्दा बढीको गुठीको जग्गालाई रैकरमा परिणत गरी व्यक्तिको नाममा दर्ता गराई संस्थालाई सुुकुम्वासी बनाइएको जानकारी दिइएको छ । 

गुुठी जग्गाको आम्दानीबाट मन्दिरको पूजापाठका लागि खर्च चलाउन भनेर अधिकार दिइएता पनि स्वामित्व नै आफूले लिई आफ्नो नाममा दर्ता गरेर सार्वजनिक सम्पत्ति हिनामिना गर्नु दुःखद् भएको बताइएको छ । 

विसं १९४३ मा फिरन्ता बह्मचारी गणेश गिरीले आफूसँग भएको रु ९०० मध्ये रु ३०० मन्दिर स्थापना, रु ३०० पूजापाठ र रु ३०० मन्दिरमा आउने सन्तमहन्तको खानपिनका लागि पोखराको कुडहर, छिनेडाँडा र अर्मलालगायतका ठाउँमा १२० मुरी धान फल्ने खेत पाखो जग्गा मन्दिरको नाउँमा खरिद गरेको कार्यक्रममा जानकारी दिइएको थियो । 

मन्दिरका पुजारी देवीदत्त पराजुलीको शेषपछि उनका दुई छोरा रुद्रनाथ र टीकानिधिले पुजारीको जिम्मेवारी सम्हालेकामा दुवै दाजुभाइको मृत्युपछि मन्दिरको जिम्मेवारी रुद्रनाथकी श्रीमती पवित्रा पराजुली र टीकानिधिकी श्रीमती गङ्गा पराजुलीले विभिन्न पुजारी राखेर पूजाआजाको प्रबन्ध मिलाउँदै आएका थिए । 

गुठीका जग्गालाई मन्दिरको जिम्मेवारी सम्हालेका पवित्रा पराजुली र गङ्गा पराजुलीले कुनियतका रुपमा राज्यका जिम्मेवार निकायलाई प्रलोभनमा पारी आफ्नो नाउँमा दर्ता गरेको समितिका अध्यक्ष महेश पराजुलीले बताए ।  

वयोवृृद्ध समाजसेवी तेजनाथ घिमिरेले सार्वजनिक संस्थाको अचल सम्पत्तिको कमाइ खान दिँदैमा त्यो व्यक्ति सम्पत्तिको मालिक बन्न नसक्ने बताउँदै कसैले दुहेर खान दिएको गाईलाई काटेर खाएसरह भएको टिप्पणी गरे ।  

संस्थाका संस्थापक सदस्य वयोवृद्ध कर्णशङ्कर पालिखे, वामन पराजुलीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने राज्यका निकाय नै प्रलोभनमा परेको आरोप लगाए ।

]]>