देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीतिकर्मी जनसेवी र चरित्रवान् भए राजनिति सुध्रिन्छ :वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिलाई सम्मानित गराउन गाउँदेखिका नेता–कार्यकर्ता जनसेवी र चरित्रवान हुनुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा राजधानीमा आयोजित राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ विषयक गोष्ठीमा वरिष्ठ नेता पौडेलले जनताले आफ्नो नजिकको नेतालाई राम्रोसँग चिन्ने भएकाले उनीहरुले आफूप्रति आदरभाव उत्पन्न हुने बनाउनुपर्ने बताए ।

अहिले नेपालको राजनीति भनेकै सत्ताको लुछाचुँडी, ढाँटछल, गण्डागर्दी र झुटा आश्वासन बाँड्ने कार्यका रुपमा बुझ्न लागिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले राजनीतिलाई मर्यादाको सीमाभित्र राख्नुपर्नेमा जोड दिए । मुलुकको विकास र सुधारको अगुवाइ गर्ने राजनीतिक दल र नेता नै पहिला सुध्रिनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । उनले भने– ‘राजनीति माफियावादबाट मुक्त हुनुपर्दछ, सिद्धान्तमा आधारित भई समानता र न्याय दिलाउन सक्ने हुनुपर्दछ ।’ उनले मुलुकमा सिद्धान्त काँग्रेसको विजयी भए पनि कार्यकर्ता भने कम्युनिस्टको धेरै हुनुको पछाडि काँग्रेसले आफ्नो मूल्य, मान्यता र योगदानलाई जनताका बीचमा पर्याप्त रुपमा लैजानु नै मुख्य कारण भएको बताए ।

कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेता तथा कार्यकर्ताको जीवनशैली र व्यवहार जनमैत्री भएमा राजनीतिक क्षेत्रको सम्मान आफैँ बढ्ने बताए । ‘आम जनताको चाहनाअनुसार काम गर्न सके सम्मानित हुन्छ, नसके सम्मान हैन वितृष्णा वा घृणा बढ्छ,’ उनले भने ।

काँग्रेसकै नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले ठूला सपना बाँड्ने तर पूरा गर्न नसक्ने र सेवाका लागिभन्दा पेसाका लागि राजनीति प्रयोग हुन थालेकाले राजनीतिक क्षेत्रको आलोचना भएको बताए । उनले काँग्रेसले राजनीतिक मात्रै नभई सामाजिक क्रान्ति पनि गरेको दाबी गर्दै मुलुकमा काँग्रेसकै कारण धेरै परिवर्तन सम्भव भएको तर्क गरे ।

कार्यक्रममा काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादव नेता प्रदीप गिरी, मानबहादुर विश्वकर्मा, , जीवन परियार, राजनीतिज्ञद्वय नीलाम्वर आचार्य र प्रा कृष्ण खनाल, मधु आचार्यलगायतले राजनीतिलाई सम्मानित बनाउने उपायका बारेमा धारणा राखेका थिए । 

]]>