देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अस्पताल आउने बिरामी छाडेर डाक्टर क्लिनिकतिर

देशान्तर

गाईघाट। जिल्ला अस्पताल उदयपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा डिएल यादव निजी क्लिनिकमा व्यस्त हुने गरेका कारण अस्पतालमा आउने अधिकांश बिरामी मारमा पर्ने गरेका छन् । 

दुई महिनायतादेखि डा यादवले बिहानको समयदेखि बेलुकी ३ बजेसम्म नै गाईघाट बजारको निजी क्लिनिकमा व्यस्त हुँदा अस्पतालमा प्रसूतिको लागि आउने बिरामी सेवाबाट वञ्चित हुनपरेको स्थानीयवासी कुमारी खड्काले बताइन् ।  

सेवाग्राहीहरुका अनुसार दुई दिनसम्म प्रसूतिका लागि डाक्टरलाई अस्पतालमा पर्खदा पनि डाक्टर नआएर निजि क्लिनिकमै बोलाउने गरेका छन् ।  

अस्पतालबाट सरकारी तलब खाएर बसेका डा यादव दिनभरि आफ्नो निजी क्लिनिकमा बसेर बेलुकी ३ बजेदेखि ५ बजेसम्म दुई घन्टा मात्र अस्पतालमा आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् । 

प्रसूति सेवाका लागि आउने अधिकांश बिरामी डा यादवकै क्लिनिकमा जाने गरेका छन् । केही भने जिल्ला बाहिर जान बाध्य हुनपरेको बिरामीका आफन्त बताउँछन् । 
अस्पतालमा आउने कतिपय बिरामीलाई डा यादवले अस्पतालमा नगई आफ्नो क्लिनिकमा आउन बाध्य पार्ने गरेका जनगुनासो छ । 

अस्पतालमा सामान्य शुल्कमा प्रसूति जाँच हुने र एक्सरेमा धेरै पैसा नलाग्ने र प्रसूति सेवा निःशुल्क हुने गरेको अस्पतालका कर्मचारी बताउँछन् । 

तर डा यादवले अस्पतालका बिरामीलाई आफ्नो क्लिनिकमा जान बाध्य बनाएर बिरामी जाँच, एक्सरेदेखि सबै सेवाको महँगो शुल्क लिने गरेको बिरामीका एक आफन्त गङ्गाबहादुर मगरले बताए । 

]]>