देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री छान्न माओवादीमा सकस

देशान्तर

काठमाडौं ।  माओवादी केन्द्रमा मन्त्री छनोटमा सकस भएको छ । पार्टीका तर्फबाट पठाउने मन्त्री छनोट गर्न मंगलबार बसेको बैठक अनिर्णीत भएको छ । आकांक्षी धेरै र गुटगत प्रतिनिधित्व खोजेपछि निर्णय नभएको हो । माओवादीले पार्टीको भागमा परेका ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा, स्थानीय विकास मन्त्रालयमा हितराज पाण्डे, सूचना तथा सञ्चारमा राम कार्की, संसदीय मामिला तथा कानुनमा प्रभु साह र शिक्षा मन्त्रालयमा धनीराम डिआर पौडेललाई मन्त्री बनाउने तयारी गरेको थियो ।

तर, संस्थागत भन्दा व्यक्तिगत प्रभावका आधारमा मन्त्री छनोट गर्न खोजिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएको स्रोतले बतायो । प्रस्तावित नाममा क्षेत्रीय सन्तुलन नमिलेको, महिला मन्त्री नपरेको तथा गुटगत प्रवृत्ति बढेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् । पार्टीको बैठकमा निर्णय हुन नसकेपछि माओवादी केन्द्रीय कार्यालयले समावेशी सन्तुलन मिलाएर मन्त्री छनोटको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

‘पार्टीले बनाएको मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्री तथा अध्यक्षलाई दिइएको छ,’ प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अब अध्यक्षले नै अन्तिम निर्णय गर्नुहुन्छ ।’ नदोहोरिने गरी समावेशी तथा प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने माओवादी मापदण्ड छ । पार्टीको मंगलबारको बैठकमा मन्त्रीको नाममा छलफल नभएको केन्द्रीय कार्यालय सदस्य अग्नि सापकोटाले जानकारी दिए  ।

‘बाहिर प्रचारमा आएका व्यक्तिका नाममा प्रवेश नै गरेर बैठकमा छलफल भएन,’ सापकोटाले भने, ‘सबै नेताहरूले नीतिगत आधारमा समावेशी सन्तुलन मिलाएर मन्त्रीको छनोट गर्न अध्यक्षलाई आग्रह गर्नुभयो ।’  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>