देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अझै तीन भ्रातृसंस्था महाधिवेशन बाँकी , पाँचवटा बेखबर

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशनपछिको पहिलो बैठकले ६ महिनाभित्र सबै भ्रातृ संगठनको महाधिवेशन गराउने निर्णय कार्यान्वयन असम्भव भएको छ । प्रभावशाली तीनवटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गरे पनि अझै तीनवटा भ्रातृ संस्थाको महाधिवेशन हुन बाँकी रहेको छ भने पाँचवटा भ्रातृसंस्थाको महाधिवेशन भएको नभएको बारेमा पार्टी केन्द्रीय कार्यालयलाई समेत कुनै जानकारी छैन् । प्रभावशाली भ्रातृ संस्थाको महाधिवेशन गराए पनि अन्य भ्रातृ संस्थाको महाधिवेशन गराउनका लागि पार्टी नेतृत्वले चासो नदिएका कारण १३ औं महाधिवेशनपछिको पहिलो बैठकले गरेको निर्णय अलपत्र परेको हो । 

तत्कालीन अवस्थामा नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसका बीचमा एकता भएपछि महाधिवेशन हुन नसकेका प्रभावशाली तीनवटा भ्रातृ संगठनसहित चारवटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न भएको छ । १३ औं महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र सबै भ्रातृ संस्थाको महाधिवेशन गराउने निर्णय गरेको थियो तर पार्टी केन्द्रीय समितिको सो निर्णयको ६ महिना बितिसक्दा समेत कांग्रेसले प्रभावशाली बाहेकका भ्रातृ संस्थाको भन्दा अरूको महाधिवेशन गर्न सकेको छैन । 

नेपाली कांग्रेसले १३ औं महाधिवेशनपछि १३ वटा भ्रातृसंस्थामध्ये नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको महाधिवेशनलगतै भूतपूर्व सैनिक संघले आफ्नो महाधिवेशन सम्पन्न गरेको थियो । तर अझै किसान संघ, प्रजातन्त्र सेनानी संघ, आदिवासी जनजाति संघको भने महाधिवेशन मितिसमेत तय हुन सकेको छैन । यीमध्ये किसान संघ र आदिवासी जनजाति संघ स्थानीय अधिवेशन गर्दैछन् भने प्रजातन्त्र सेनानी संघले जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । किसान संघको सभापतिमा भानु सिग्देल, आदिवासी जनजाति संघको अध्यक्षमा इन्द्रबहादुर गुरुङ र प्रजातन्त्र सेनानी संघको अध्यक्षमा टंकप्रसाद कँडेल छन् ।

यी तीनवटै भ्रातृ संगठनको नेतृत्व ६ महिनामा अधिवेशन गराउने गरी तत्कालीन सभापति सुशील कोइरालाले नेपाल विद्यार्थी संघ महिला संघ तथा तरुण दलको नेतृत्वसँग जिम्मेवारी दिएका थिए । यीमध्ये नेपाल दलित संघले भने तदर्थ समितिलाई दिएको जिम्मेवारी पूरा गर्दै ६ महिनामा नै महाधिवेशन सम्पन्न गरिसकेको थियो । दलित संघको झापामा सम्पन्न महाधिवेशनले दोस्रो कार्यकालका लागि मीन विश्वकर्मालाई निर्वाचित गरेको थियो । नेपाल विद्यार्थी संघको महाधिवेशन पनि पटकपटक तोकिँदै स्थगित हुँदै आएको थियो । 

पहिलो पटक २०६६ साल वैशाख २१ र जेठ १ गतेको पार्टीको निर्णयअनुसार गठन भएका पाँचवटा संस्थाको भने अधिवेशन भए नभएको पार्टी केन्द्रीय कार्यालयमा कुनै रेकर्ड छैन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजको भने भ्रातृ संस्थाको मान्यता पाएपछि महाधिवेशन भए, नभएको कुनै रेकर्ड पार्टी कार्यालयमा नभएको स्रोतले बतायो । अपांग संघको अध्यक्षमा भोजराज श्रेष्ठ, मुस्लिम संघमा अब्दुल सतार, तामाङ संघमा केवलमान तामाङ र मगर संघमा गणेशबहादुर थापामगर तथा ठाकुर समाजमा अनिरुद्र ठाकुर अध्यक्ष छन् । नेपाली कांग्रेसका १३ वटा भ्रातृ तथा १७ वटा शुभेच्छुक संस्था रहेका छन् । 

 

]]>