काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन हुने विश्वास दिलाउँदै सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि हुन आग्रह गरेका छन् । व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘मधेसी जनताको भावनाअनुसार संविधान संशोधन आवश्यक छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यो गर्नु पनि पर्छ । तर दोस्रो चरणको निर्वाचनपछि यो संविधान संशोधन गरेर जानुपर्छ । मधेस केन्द्रीत दल र हामीले चाहँदा चाहँदै पनि हुन सकेन ।
विपक्षी दलले पनि त्यसबेला सहयोग गर्नेछ । अहिलेको चुनावमा भाग लिएर अघि बढौं ।’ उनले संविधान संशोधन विधेयक संसद्बाट फेल गराउन उचित नहुने पनि धारणा राखे । ‘संशोधन पारित हुने अवस्था नदेखिँदा फेल गराउन उचित हुँदैन,’ उनले भने, ‘मधेस केन्द्रीत दलहरुलाई पनि दोस्रो चरणको चुनावपछि संशोधन हुने विश्वास दिलाउन चाहन्छु ।’
उनले समयमै ३ वटा निर्वाचन गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडाउनुपर्ने बताउँदै भने,–‘तीन वटा निर्वाचन गर्नुछ । त्यसपछि देश एउटा संघीय गणतान्त्रिक लोकतन्त्रमा जानेछ । त्यसपछि जनताको इच्छाअनुसार सरकार बन्ने अवस्था आउँछ । प्रजातन्त्र कसैले खोस्न सक्नेछैन । ‘कु’ भएर प्रधानमन्त्री हट्ने र संसद् भंग गर्ने दिन नआओस् । त्यसका लागि तीनवटा चुनाव हुन जरुरी छ ।’ उनले संविधानको सर्वस्वीकार्यताको लागि पनि चुनावमा जानुपर्ने बताए । ‘स्थानीय निकायको दोस्रो चरणको चुनाव सकिनासाथ विपक्षी दलका नेताहरुसँग कुरा गरेर संविधान संशोधन गरिनेछ,’ देउवाले भने ।





प्रतिक्रिया