देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजपासंग मुख्य दलको निर्णायक वार्ता ? कस्तो आउला नतिजा ?

देशान्तर

काठमाडौं । सत्तारुढ, प्रमुख प्रतिपक्षि र राष्ट्रिय जनता पार्टी नेपालबीच आज निर्णायक वार्ता हुने भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको १६ दिन अघि राजपाले सुरु गरेको आमहड्ताल सहितको निर्वाचन विरुद्धका अभियान पछि प्रधानमन्त्री शेरबहादुर देउवाको अगुवाईमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षि नेकपा एमाले र राजपाबीच वार्ता हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ४ बजे बस्ने बैठकमा प्रमुख तीन दलहरु संविधान संशोधन, स्थानीय तहको संख्या थप र निर्वाचन सार्ने बाहेकका अन्य मागमा लचिलो रुपमा प्रस्तुत हुने तयारीमा छन् । राजपाले असार १४ को मिति पनि केहीदिन सार्नुपर्ने माग उठाएको छ ।
राजपाको मागमा प्रधानमन्त्री देउवा सकारात्मक देखिए पनि सत्तारुढ दलकै नेताहरु र प्रमुख प्रतिपक्षी एमाले कुनै हालतमा मिति सार्न नहुने पक्षमा छन् ।
राजपाकै मागमा यसअघि तीन पटक निर्वाचनको मिति सारिसकेको तर, उनीहरु सहमतिमा नआएको भन्दै नेताहरुले देउवालाई मिति नसार्न दवाव दिएका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले राजपा मात्रै नभएर सरकार समेत निर्वाचन नगर्न पक्षमा रहेको आरोप लगाउँदै आएको छ । निर्वाचनको मिति सार्ने कुरा आफूहरुलाई मान्य नहुने एमालेको अडान छ । आजको बैठकमा राजपाले निर्वाचनमा सहभागीताका लागि लिखित सहमति जनाएमा उसका राजनीतिक माग संबोधन गर्ने र तत्काल सम्भव नहुने विषय पछि गर्नका लागि लिखित सहमति नै जनाउने समझदारी सरकारको तयारी छ ।
राजपाले निर्वाचनका लागि सकारात्मक धारणा राखेमा आज एउटा कुनै समझदारी हुने नेताहरुको विश्वास छ ।