काठमाण्डौँ । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सत्तापक्षको निर्णयमा आपत्ति जनाएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीसँगको छलफलपछि सत्तापक्षले प्रदेश २ को चुनाव असोज २ मा गर्ने निर्णय गरेको थियो ।
सत्तापक्षको निर्णय पछि विज्ञप्ती निकाल्दै एमाले यो निर्णयबाट मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको दाबी गरेको छ । विज्ञप्तिमा कुनै ठोस कारण र औचित्यबिना निर्वाचन सारेर सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको उल्लेख छ ।
प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार कुण्ठित गरेको एमालेको भनाई छ । एमालेले सत्तापक्षको यो निर्णयले संविधान कार्यान्वयनमा गम्भीर धक्का पुगेको जनाएको छ ।
एमालेले यस कदमविरुद्ध सचेत रहँदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन समेत दिएको छ ।





प्रतिक्रिया