काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर एक, पाँच र सातमा निर्वाचनको सवै तयारी पूरा भएको जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सवै तयारी पूरा भएको र अबपनि निर्वाचन हुन्न कि भन्ने शंका नगर्न आग्रह गरे । उनले भने,‘सुरक्षालगायतका सवै तयारी पूरा भएका छन् अब पनि निर्वाचन हुँदैन कि भन्ने आशंका नगरौं ।’ निर्वाचनमा आवश्यक पर्ने सवै सुरक्षा व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिवद्धता व्यक्त गरेको प्रमुख आयुक्त यादवले जानकारी दिए । असार १४ गते एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुने आयोगले जनाएको छ ।
यस्तै, निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थल र आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि ४७ वटा संस्थाका करिव ७ हजार ८९ जना पर्यवेक्षकलाई आयोगले अनुमति दिएको छ । आयोगले आमसञ्चार माध्यममा स्थानीय भाषाहरुमा समेत मतदातासँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै नेपालमा बोलिने राष्ट्रभाषामध्ये १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयार गरिएको छ ।
दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइसकेको छ भने कूटनीतिक नियोगका सदस्यहरूलाई देशका विभिन्न आठवटा सहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाएको छ ।





प्रतिक्रिया