देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोल्पाको माडी गाउँपालिकामा काँग्रेस–एमाले तालमेल

देशान्तर

रोल्पा । रोल्पाको एक गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । जिल्लाको माडी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा एमालेले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो । सहमतिपछि असार ४ गते नै उनीहरुले अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका तर्फबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएको बताइएको छ । उनीहरुले सो गाउँपालिकाका अन्य तीनवटा वडामा समेत चुनावी तालमेल गरेका छन् ।

तालमेल जिल्लाको सापेक्षतामा स्वाभाविक भएको नेपाली काँग्रेसका सभापति अमरसिं पुनले प्रतिक्रिया दिए । स्थानीय पार्टी कार्यकर्ता र जनताले लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने दबाब दिएका कारण तालमेल भएको उनले बताए । जिल्लाभर तालमेल गरी जाने प्रयास गरिएपनि प्राविधिक कारणले सम्भव नभएको उनले बताए ।

देशका अन्य जिल्लामा नेपाली काँग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहेपनि रोल्पाको वस्तुस्थिति भने फरक रहेका कारण पनि दुई दलबीच तालमेल भएको उनले बताए । एक नगरपालिकासहित दश स्थानीय तह रहेको रोल्पामा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र अन्य साना दलसहित स्वतन्त्र उमेदवारले समेत चुनावी प्रतिस्पर्धा गर्दैछन् ।