काठमाडौँ । अब प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत र प्रदेशसभा निर्वाचनमा डेढ प्रतिशत थ्रेसहोल्ड कायम हुने भएको छ। सरकारले यसअघि राजनीतिक दलसम्वन्धी ऐनमा राष्ट्रिय दलको मान्यता पाउनका लागि तय गरेको थ्रेसहोल्ड नै प्रतिनिधिसभाको थ्रेसहोल्ड कायम गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ को व्यवस्था अनुसार अब समानुपातिक निर्वाचनमा सदर मतको तीन प्रतिशत र प्रत्यक्षमा एक सिट नल्याउने दलले राष्ट्रिय दलको मान्यता पाउने छैनन्। राष्टिय दलको मान्यता पाउन योग्य नभएको दलले अब प्रतिनिधिसभाको समानुपातिक सिट पाउने छैनन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्वन्धी विधेयक गृह मन्त्रालयले संसद्मा सोमबार साँझ पेस गरेको छ। प्रतिनिधिसभा विधेयकको दफा ६० ९१०० र ९११० ले राजनीतिक दलसम्वन्धी ऐनको दफा ५२ अनुसार थ्रेसहोल्डको व्याख्या गरेको छ। यस्तै सरकारले प्रदेश सभा निर्वाचनमा भने समानुपातिक सिट बाँडफाँडमा न्युनतम एक दशमलव पाँच प्रतिशत थ्रेसहोल्ड तय गरेको छ। सदर मतको डेढ प्रतिशत मत नल्याउने दलले प्रदेश सभा निर्वाचनमा समानुपातिक सिट बाँडफाँडको हिस्सा पाउने छैन।
प्रदेश र प्रतिनिधि सभा दुबै निर्वाचनमा एक उम्मेदवारले एक क्षेत्रबाट मात्र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछ। यसअघि एकभन्दा बढी क्षेत्रमा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो। संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुनमा एक उम्मेदवार एक निर्वाचन क्षेत्र कायम गरिएको हो। २०४६ सालपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना हुँदा पनि एक उम्मेदवार एक निर्वाचन क्षेत्र कायम गरिएको थिएन। ठूला दलका ठूला नेताहरु समेत सुरक्षित हुनका लागि दुई ठाउँबाट उम्मेदवारी दिने गर्थे।





प्रतिक्रिया