देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादीः श्रममन्त्री मन्सुर

देशान्तर

 

काठमाडौं । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाएका छन ।

महोत्तरीको जलेश्वरमा बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाले र मधेश केन्द्रित दलका हठका कारण संविधानले पूर्णता र सर्वस्वीकार्यता पाउन नसकेर देश विकासको गतिमा अवरोध उत्पन्न भएको बताए ।

 

मन्त्री मन्सुरले एमालेले सधैँ पहाडवादी राष्ट्रवादको नारा लगाएर मधेश र मधेशीलाई गाली र अपमानित गर्ने गरी पहाडे समुदायलाई मधेश विरोधी खडा गर्ने तथा मधेश केन्द्रित दलले सधैँ मधेशवादी राष्ट्रवादको नारा लगाएर पहाड र पहाडे समुदायलाई गाली र अपमानित गर्ने काम गरेर देश बिखण्डनको दिशामा हिडाउन खोजेको आरोप लगाए ।

 

नेपाली काँग्रेस शुरुदेखि नै संविधानलाई संशोधन र परिमार्जन गरेर मधेशी, थारु, आदिवासी जनजाति, पीछडिएको वर्गलगायत सबै नेपालीको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्यको दायरामा लैजान तयार रहेको चर्चा गर्दै उनले संविधान संशोधन तथा मधेशीलगायत सबै वर्ग समुदायको माग पूरा गर्ने वातावरण निर्माणका लागि काँग्रेस जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताए ।

 

मन्त्री मन्सुरले राजपाले उठाएका शहिद घोषणा, घाइतेको उपचारलगायतका माग पूरा हुने अवस्थामा रहेको र ती सबै काम नेपाली काँग्रेसले नै गराएको दाबी गर्दै नेपाली जनताको हक, अधिकार, देशमा दिगो शान्ति र विकासका लागि नेपाली काँग्रेस सधैंँ तत्पर रहेको दाबी गरे ।

 

सबैको अधिकार, पहिचान र स्वाभिमानको रक्षा तथा देशको विकास र समृद्धिका लागि तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहलगायत तिन वटै तहको निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमतका साथ जिताउन सबैमा उनले अपिल समेत गरेका छन ।