देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस र एमालेले प्रत्यक्ष कार्यकारी नमाने जनतामा जान्छुः दाहाल

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्न कांग्रेस र एमाले तयार नभए आफू यहि मुद्धा लिएर जनताको बीचमा जाने बताएका छन् । सोमबार ४ नम्बर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष दाहालले संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा जोड दिए ।

उनले हिजो कांग्रेस–एमालेले पनि मानेकै कुरा भएकाले आज कम्तिमा पनि तीन पार्टी यो मुद्दामा एक हुनपर्ने धारणा राखे । दाहालले कार्यकारी राष्ट्रपतिका लागि पहिला वैचारिक अभियान सञ्चालन गर्ने र त्यसमा कांग्रेस एमालेले नमाने जनताको बीचमा गएर व्यापक जनदवाव सिर्जना गर्ने चेतावनी दिए ।

अध्यक्ष दाहालले अहिलेको निर्वाचनमा धेरै आर्थिक विकृति देखिएकाले यसको विकल्प खोज्नुपर्ने धारणा व्यक्त गर्दै घुमाई फिराई सम्भ्रान्त वर्गले मात्रै चुनाव लड्न र जित्नसक्ने परिस्थिति सिर्जना भएको बताए ।

उनले यसको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवस्यक भएको र यसको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसँग गहिरो अन्तर्सम्बन्ध रहेको दाबी गरे । माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिन सक्ने खतरा औल्याउँदै दाहालले कांग्रेस, एमालेलाई आफ्नै हरुवा चरुवा मन्त्री संसद हुने समावेशी व्यवस्था घाँडो भएको दावी गरे ।

माओवादी धाराको एकता अनिवार्य भएकोमा जोड दिँदै उनले माओवादीबाट फुटेका कसैले पनि फुटको औचित्य पुष्टि गर्न नसकेको र जनताले अनुमोदन पनि नगरेकोले सबै मिल्नुको विकल्प नरहेको स्पष्ट पारे ।