देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीय संसद् र सातवटै प्रदेशसभामा एमालेले बहुमत ल्याउछ: अध्यक्ष ओली

देशान्तर

पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ द्वारा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान, सत्तामा रहँदा आर्थिक समृद्धिका लागि गरिएको बजेट विनियोजनजस्ता कार्यक्रमले आफ्नो दलको विजय अभियानलाई अब कसैले रोक्न नसक्नेमा जोड दिए ।

प्रदेश नं– २ मा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिए पनि पहिलो पार्टी नै बन्ने दाबी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी पार्टीसँगको सहमतिबिना नै त्यस प्रदेशमा स्थानीय तहको संख्या बढाइएकोमा आपत्ति जनाए ।

संघीय संसद् र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुनुपर्छ भन्ने पक्षमा एमाले रहँदारहदै पनि दुईचरणमा गर्न लागिएकामा विरोध जनाउँदै अध्यक्ष ओलीले दुई चरणमा चुनाव गर्न खोज्नु धाँधलीको संकेत भएको बताए ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शान्तिपूर्ण तरिकाले धनुषामा पार्टीका नीति, कार्यक्रम र विचार कार्यकर्ता माझ राखिरहेको बेला राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले ढुंगामुढा गरेर उच्छृखलता देखाएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले नेकपा एमाले मुलुकको आर्थिक समृद्धि र विकास गर्ने अभियानमा लागेकाले यस पार्टीमा सामेल हुन सबै राष्ट्रप्रेमी जनतासँग आह्वान समेत गरे ।