देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज जितिया पर्व मनाइँदै

देशान्तर

जनकपुर । सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलानीहरु आज जितिया पर्व मनाउँदै छन् । मंगलबारदेखि विधिवत रुपमा सुरु भएको जितिया पर्व बिहीबार समापन हुने छ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म पानीसमेत नखाई थुक पनि ननिलि व्रत बस्ने हुनाले जितिया पर्वलाई महान एवं कठोर मानिन्छ ।

जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । मंगलबार नुहाएर घिउराको पातमा तेल खडी चढाएर महिलाहरुले आआफ्ना सन्तानको टाउकोमा लगाई दिन्छन् । त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवा महिलाहरु भात, चिउरा र कोदोको रोटी खाने परम्परा छ ।

शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल कुवामा स्नान गरि गम्हरी (कोसा विभत्रै फल्ने धान) को खीर वा भात पनि खाने गरिन्छ । जितियापर्वको एका बिहानै महिलाहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन् । त्यसपछि दिन रात उपवासमा बस्ने हुनाले छाक भरि भोजन गर्छन् । यता बिहानपख बच्चाहरु बिउँझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्य स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन् ।

पारनका दिन अर्थात अन्तिम दिन बिहानै उठी ब्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर वेसारको पातमा चुडा, दही, फलफूल खान दिएर जितिया पर्व विधिवत रुपमा सम्पन्न हुन्छ । जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा जितिया प्रतिमा राखी पूजा आजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहहरु समेत गर्ने गर्दछन् ।

जितियाको अवसरमा धनुषाको नक्टाझिज विश्वकर्माचौमा हिमालय युवा क्लबले गएको २४ वर्षदेखि गर्दै आएको सांस्कृतिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको क्लबका अध्यक्ष अरुण कुमार महतोले जानकारी दिए। त्यसै गरि यसै पर्वको अवसरमा जनकपुरको विभिन्न स्थान तथा धनुषाको बटेश्वर लगायतको स्थानमा मेलासमेत आयोजन भएको छ ।