देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कम्युनिष्टहरु मिल्दा होइन, कांग्रेस नमिल्दा चुनावमा समस्या नेत्री सुजाता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कम्युनिष्टहरु मिल्दा कांग्रेसलाई चुनावमा कुनै समस्या नपर्ने बताएकी छन् । उनले नेपाली कांग्रेसले चुनावमा पराजय कम्युनिष्टहरु मिलेका कारणले नभई कांग्रेस नमिलेका कारण हुने गरेको स्पष्ट पारिन् । वाम गठबन्धनका कारण राजनीति तरंगित भइरहेका बेला आफ्नै निवासमा सञ्चारकर्मीसँग कोइरालाले अन्य कुनै गठबन्धन बनाउने भन्दा पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्ने बताइन्।

‘हिजो गिरिजाबाबुलाई पनि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउन दवाब आएका थिए। त्यसबेला गिरिजाबाबुले मुलुकलाई ध्रुवीकरणमा लैजाँदा द्धन्द बढ्छ भनेर रोक्नुभएको थियो’ , कोइरालाले भनिन्, ‘तर अहिले कम्युनिष्टहरुले सुरु गरे। कांग्रेस त्यो बाटोमा जान हुँदैन।’ उनले कांग्रेस सेन्ट्रिष्ट पार्टी भएको भन्दै लेफ्टिस्ट र राइटिस्ट दुबैलाई डोहोर्‍याएर हिड्नुपर्ने बताइन्। नेत्री कोइरालाले अहिलेसम्म कांग्रेसलाई कांग्रेसले मात्र हराइरहेको भन्दै पार्टी एक भए कसैले हराउन नसक्ने बताइन् । ‘कम्युनिष्टहरु मिलेर के गर्छन भन्ने चिन्ताभन्दा कांग्रेस के गर्छ भन्ने चिन्तन गर्नुप¥यो’, उनले भनिन्, ‘आफूभन्दा फरकलाई सिध्याउनका लागि पार्टीका नेता कार्यकर्ता नै लाग्ने कुरा बन्द गर्नुप¥यो ।’

उनले नेतृत्वले नै फरक विचार नसुन्ने र आफूभन्दा फरकलाई सिध्याउने खेल बन्द नगरे कांग्रेस समाप्त हुन सक्ने चेतावनी दिइन्। उनले आफुले माओवादीसँग मिल्न हुँदैन भने स्मरण गर्दै भनिन्–‘आफ्नो शक्तिलाई आफैले कमजोर सोच्न हुँदैन भन्दै आएकी हुँ। तर, नेतृत्वले अन्य प्रदेशमा माओवादीसँग तालमेल गर्दा के परिणाम पायो सबैलाई थाहा छ । प्रदेश नम्बर दुईमा त माओवादीलाई भोट हाल्न निर्देशन समेत भएको पाइयो।’ माओवादीलाई अनावश्यक बोक्न खोज्दा स्थानीय चुनावमा क्षति भएको भन्दै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि बृहत् प्रजातान्त्रिक मोर्चा वा अन्य नाममा गठबन्धन भए कांग्रेसलाई थप क्षति हुने बताइन्।