देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सप्तरीमा शीतलहरबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, विद्यालय थप ४ दिन बन्द

देशान्तर

राजविराज– एक सातादेखिको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ। चिसोले शुक्रबार राति थप एक जनाको ज्यान गएको हो।

तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुरको शुक्रबार राति चिसोका कारण मृत्यु भएको हो। खाना खाएर राति सुतेका उनी बिहान नउठेपछि हेर्न जाँदा ओछ्यानमै मृत फेला परेको छिमेकी प्रदीप मण्डलले जानकारी दिए।

यसअघि महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो।

सामुदायिक विद्यालय थप ४ दिन बन्द

अत्यधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप ४ दिन बन्द गरिएको छ। यसअघि बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो।

अत्यधिक चिसो बढेपछि शिक्षा समितिको निर्णय अनुसार पुस २६ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए।

एक साताभन्दा अघिदेखिको निरन्तर शीतलहरका कारण चिसो बढेपछि बालबालिका बढी प्रभावित भएको र कतिपय विद्यालयमा विद्यार्थी नै आउन छोडेपछि जिल्लाभरका ४ सय १२ वटै सामुदायिक विद्यालय बिहीबारदेखि नै बन्द छन्। निजी विद्यालय भने सञ्चालन भइरहेका छन्।

चिसोका कारण निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेका छन्।