देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाकिस्तान विरुद्धको एकदिवसीय सिरिज न्युजिल्यान्डद्धारा ‘क्लिनस्विप’

देशान्तर

वेलिङटन । पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज घरेलु टिम न्युजिल्यान्डले क्लिनस्विप गरेको छ। पाँचौ खेलमा पाकिस्तानलाई १५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज क्लिनस्विप गरेको हो।

शुक्रबार भएको पाँचौ खेलमा न्युजिल्यान्डले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९ ओभरमा २ सय ५६ रनमा अलआउट भयो। पाकिस्तानका लागि हरिस शोहिलले ६३ रन जोडे भने सादव खानले ५४ रनको योगदान दिए। खराब ओपनिङ गरेको पाकिस्तानले १४ ओभरमा सुरुवाती चार विकेट गुमाउदा ५२ रन जोडेको थियो।

पाकिस्तानको इनिङलाई कमजोर बनाउन न्युजिल्यान्डका माट हेनरीले ४ विकेट लिए। मिचेल सान्टनरले ३ विकेट हात पार्दा लोकी फर्ग्युसनले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७१ रन जोड्यो। न्युजिल्यान्डका लागि मार्टिन गुपटिलले शतक प्रहार गरे। उनले १ सय २६ बलमा १०० रन जोड्दा १० चौका र १ छक्का हिर्काए। रोस टेलरको ५९ रन पनि न्युजिल्यान्डका लागि महत्वपूर्ण सावित भयो।

बलिङतर्फ पाकिस्तानका रुमान रहिसले ३ विकेट लिए। फहिम असरफले २ विकेट आफ्नो नाममा लेखाए। यसअघि न्युजिल्यान्डले पाकिस्तानलाई पहिलो खेलमा ६१ रन, दोस्रो खेलमा ८ विकेट, तेस्रो खेलमा  १ सय ८३ रन र चौथो खेलमा ५ विकेटले पराजित गरेको थियो।