देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाका लागि कांग्रेसले टुंग्यायो दुईवटा प्रदेशका उमेदवार

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आशन्न राष्ट्रियसभा निर्वाचनका लागि दुई वटा प्रदेशबाट उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले ४ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको हो ।

बैठकले बाट खुलातर्फ सुरेन्द्रराज पाण्डेय, महिलातर्फ वृन्दा रानामगर, दलिततर्फ जीतबहादुर नेपाली र अपांग–अल्पसंख्यकतर्फ प्रकाश पन्तको नाम टुंगो लगाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार बैठकले ६ नम्बर प्रदेशबाट खुलातर्फ बिष्णुबहादुर शाही र अपांग–अल्पसंख्यकतर्फ गोपालप्रसाद शर्माको नाम पनि टुंग्याइसकेको छ । बाँकी दुई जनाको नाममा छलफल चलिरहेको प्रवक्ता शर्माले बताए ।

यसअघि कांग्रेसले ७ नम्बर प्रदेशबाट बद्रीप्रसाद पाण्डेय (खुला), तारादेवी भट्ट (महिला), शेरीराम पार्की (दलित) र छत्रराज जोशी (अपांग–अल्पसंख्यक) लाई राष्ट्रियसभाका लागि उमेदवार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले माघ २४ गतेका लागि निर्धारण गरेको राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गतेभित्रै उमेदवारी टुंगो लगाइसक्नु पर्ने कार्यतालिका निर्धारण गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गते ५६ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् ।