देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गैँडाको खागसहित दुई सैनिक पक्राउ

देशान्तर

काठमाडौँ । संरक्षित वन्यजन्तु गैँडाको खाग राखेको अवस्थामा नेपाली सेनाका कार्यरत दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा खरिद बिक्री गर्न भनी ओसारपसार गरी ल्याएको अवस्थामा लैनचौरबाट गैँडाको दुई थान खागसहित उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

नेपाली सेनामा कार्यरत गोरखा सिरान्चोक गाउँपालिका–२ बस्ने हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका–९ बस्ने कृष्णबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सैनिक प्रहरी गण, जंगीअड्डा भद्रकालीमा बुझाइएको व्युरोले जनाएको छ । उनीहरुसँगै पक्राउ परेका गोरखा सिरान्चोक गाउँपालिका–२ बस्ने डिलबहादुर ढकाललाई आवश्यक कारबाहीको लागि आज जिल्ला वन कार्यालय काठमाडौँमा बुझाएको ब्यूरोले जनाएको छ ।

उनीहरुको साथबाट फेला परेको खागको तौल एक किलो १८० ग्राम र ६४० ग्राम रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) मा गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, घाईते बनाउने, खरिद बिक्रि गर्ने, हस्तान्तरण गरी लिने दिने तथा वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने, ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान रहेको छ ।