देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरमा चौथो औद्योगिक व्यापार मेला २३ चैतदेखि

देशान्तर

भक्तपुर । नयाँ वर्षको अवसरमा औद्योगिक शान्ति संस्था नेपाल र मध्यपुर व्बाइज व्याण्डको संयुक्त आयोजनामा भक्तपुरमा चौथौं औद्योगिक साँस्कृतिक, पर्यटन तथा व्यापार मेला हुने भएको छ। भक्तपुरको सल्लघारीस्थित खुल्ला मैदानमा हुने सो मेला आगामी चैत २३ गतेदेखि बैशाख ३ गते सम्म ११ दिन सञ्चालन हुनेछ ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको मेला संयोजक दिपक थापाले बताए। ‘मेलामा मानवीय जीवनमा प्रयोगमा आउने सम्पर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका समाग्री, स्थानीय उत्पादनका सामाग्रीहरु, अटोमोबाइल, इलेक्ट्रोनिक सामानलगायतका स्टल हुनेछन्।’ संयोजक थापाले भने।

मेलामा २ सयभन्दा बढी स्टल रहनेछन्। साथै मेलामा बाल उद्यान, रोटी पिङ, मारुती सर्कस, कोलम्बस, जादु र बालबालिकाको लागि मनोरञ्नात्मक खेल तथा प्रस्तुतिसमेत सञ्चालन हुने संयोजक थापाले जानकारी दिए। मेलामा बिक्री गरिने सामानहरुमा २५ देखि ५० प्रतिशत छुट दिने व्यवस्थासमेत गरिएको थापाले बताए।

‘मेला करिब ५ लाख उपभोक्ताले अवलोकन गर्ने लक्ष्य रहेको छ,’ थापाले भने, ‘मेलाबाट करिब १० देखि १२ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।’ मेलामा राष्ट्रिय स्तरका कलाकारहरुबाट दैनिक सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने आयोजक मध्यपुर व्बाइज व्याण्डका अध्यक्ष सुनील बज्राचार्यले बताए।

उनले भने, ‘मेलामा हरेक दिन व्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता तथा बि–बोईङ प्रतियोगिता, हाँस्य व्यङ्ग्य सहितका मनोरञ्नात्मक प्रस्तुति हुनेछ।’ मेलाको सुरक्षाका लागि सीसी क्यामराको व्यवस्थाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा आयोजकले पनि स्वयम सेवकहरुको व्यवस्था गरिने संयोजक थापाले बताए।