एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक महिना वितिसकेको छ । ओली सरकारमा अहिले २२ जना मन्त्री छन् । प्रधानमन्त्रीका रूपमा ओली अहिले सबैभन्दा शक्त्शिाली छन् । अर्थात उनलाई संसद्मा दुई तिहाइको समर्थन छ । दुई तिहाइको सरकारले गर्न नसक्ने भन्ने कुनै काम नै हुँदैन । तर ओली नेतृत्वको सिंगो मन्त्रिमण्डल अहिले काम गर्नेभन्दा पनि फन्डा गर्नेमा बढी व्यस्त छ । हुन त प्रधानमन्त्री ओली आफैं काम गर्नेभन्दा बढी उखान तुक्का जोड्ने नेतामा गनिन्छन् । अहिले ओली सरकारका अन्य मन्त्रीहरू पनि ओलीका जस्तो उखान तुक्का नभई फन्डा गरेर चर्चा कमाउन लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्काको प्रयोगका कारण निकै चर्चामा रहन्छन् । केही दिनअघि पनि मन्त्रालयका सबै सचिवहरूलाई बोलाएर निर्देशन दिने कार्यक्रममा समेत साधु र माताको कहानी सुनाएर ओली चर्चामा रहे । ओलीको बोलिरहने बानीप्रति इशारा गर्दै उनकै सहयात्री प्रचण्डले समेत संसद्मै अब बोल्नुभन्दा पनि एक्सन देखाएर अगाडि बढ्न आग्रह गर्नुपरेको थियो । बुधबार सातै प्रदेशका मुख्यमन्त्रीलाई डाकिएको भेलामा अब जाडोले कठ्यांिग्रएर कोही मर्नु पर्दैन भन्न भ्याए । रमाइलो त के भने उनले यही कुरा आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा पनि पटकपटक भनेका थिए ।
त्यस्तै ओली सरकारका अर्को गृहमन्त्री रामबहादुर थापाले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा रह्यो जेल भ्रमण । उनले आफ्नै पार्टीका पूर्वसांसद समेत रहेका बालकृष्ण ढुंगेललाई पनि जेलैमा सुटुक्क भेट्न भ्याए । त्यस्तै अर्को प्राथमिकतामा महानगरीय प्रहरी वृत्त अनामनगर पुगेर प्रहरीको मेसमा भात खाने रह्यो । अर्को प्राथमिकता थापाको टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई जुस पिलाएर अनशन तोड्ने रह्यो । थापाले सम्हालेको गृह मन्त्रालयमा धेरै नीतिगत विषयहरू अलपत्र परिरहेको अवस्थामा थापाको फन्डाले धेरैलाई अचम्म बनाएको छ ।
ओली मन्त्रिमण्डलमा फन्डा गरेर चर्चा कमाउन जान्ने पात्र भनेको पहिले सामान्य प्रशासन मन्त्री भएर चर्चा बटुलेका लालबाबु पण्डित हुन् । उनी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । उनले पनि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्दै स्वैच्छिक अवकाशमा जाने प्रक्रियामा लागेका कर्मचारीलाई अब स्वैच्छिक अवकाश दिन नसकिने घोषणा गरेका छन् । सरकारले कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको स्वैच्छिक अवकाशको विषयलाई मन्त्री पण्डित हुकुमका आधारमा हटाउन खोज्दैछन् । उनको यो अभिव्यक्तिको कर्मचारी वृत्तमा निकै आलोचना भइरहेको छ ।
ओली सरकारका फन्डावाल सारथिमा विद्वान अर्थमन्त्री डा.युवराज खतिवडा पनि परेका छन् । अर्थमन्त्रीको रूपमा खतिवडा नियुक्त हुँदा मुलुकको अर्थव्यवस्था अब केही परिवर्तन होला भन्ने धेरैले अपेक्षा गरेका थिए । पूर्वगभर्नर, योजना आयोगको उपाध्यक्ष भएका खतिवडाबाट आशा गरेका नेपालीलाई उनले मन्त्रालय सम्हालेपछि भने खहरे खोला नभई मुहान नै सफा गर्ने भनेर भन्सारमा कडाइ गर्ने घोषणा गरे । सेयरको लगानीलाई निरुत्साहीत पारे अहिले सेयरबजार निरन्तर ओरालो लागिरहेको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले आयोजना निर्माण नगरी लाइसेन्स ‘होल्ड’ गर्ने र झोलामा खोला हाल्नेविरुद्ध उभिने भनेर कडा अभिव्यक्ति दिए । पुनले जलविद्युत्मा ‘बिचौलिया’को बिगबिगी हटाएर वास्तविक प्रवद्र्धकलाई ‘लाइसेन्स’ दिइने प्रतिबद्धता पनि जनाउन भ्याए । त्यति मात्र होइन एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न कुलमानलाई निर्देशन दिएको समाचार लेखाउन भ्याएका छन् । तर लोडसेडिङ कुनै न कुनै रूपमा भइरहेको छ ।
माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरले खानेपानी मन्त्री बनिन् । उनी खानेपानी मन्त्री बनेसँगै मेलम्ची भ्रमणमा गइन् र २५ दिनमा काठमाडौंमा पानी ल्याउने उद्घोष गरिन् । अझै सुरुङ निर्माणकार्य पनि पूरा नभइसकेको मेलम्ची कसरी २५ दिनमा काठमाडौं पुग्ने भन्ने चाहिँ ख्याल गरिनन् ।





प्रतिक्रिया