देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चपछि राष्ट्र बैंकमा ‘कु’ को षड्यन्त्र

देशान्तर

न्यायालयमा अराजकता मच्चाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सचिवको निर्देशनमा हटाएको केपी ओली सरकारले अब वित्तीय अराजकता मच्चाउनका लागि नेपाल राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने षड्यन्त्र तानाबुना बुनेको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई ‘कु’ गरेको ओली सरकारले अब राष्ट्र बैंकमा ‘कु’ गर्नका लागि आँखा लगाउन थालेको छ । राष्ट्र बैंकमा हस्तक्षेप गर्नका लागि प्रधानमन्त्री ओलीको निर्देशन अर्थमन्त्री डा.युवराज खतिवडाले षड्यन्त्र थालेका बताइएको छ । सो षड्यन्त्रअनुसार राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको प्रचार थालिएको छ ।
ओली सरकारको मक्सद पूरा गर्नका लागि अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी गोटी बनिरहेको राष्ट्र बैंक उच्च स्रोतले बतायो । शिवाकोटी प्रधानमन्त्री ओलीको निकट मानिन्छन् । उनी नेपाललाई हटाएपछि आफू गभर्नर हुने प्रयासमा रहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा नेपाललाई गभर्नर नियुक्त गरिएको थियो । नेपाल गभर्नरमा नियुक्ति हुनेबित्तिकै राष्ट्र बैंकका एमाले समर्थित कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । अहिले फेरि एमाले समर्थित कर्मचारीले नेपाललाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिँदै आएका छन् ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार अहिले गभर्नर नेपाललाई हटाउन षड्यन्त्रपूर्वक प्रचार गरिएको एपेक्स बैंक घोटाला प्रकरणको छानबिन हुँदा अर्थमन्त्री खतिवडासमेत छानबिनमा तानिने देखिएको छ । एपेक्स घोटाला काण्डको छानबिन हुँदा एपेक्स बैंक बन्नुभन्दा पहिला रोयल मर्चेन्ट बैंक र रारा फाइनाइन्स लगायत चारवटा बैंकिङ संस्था मिलेर एपेक्स बैंक बनेको थियो । त्यो बेला एपेक्स बैंक बनाउनका लागि मर्जर हुने मापदण्ड नै पूरा नहँुदा समेत मर्जर गरेर एपेक्स बैंक बनाउने स्वीकृत दिइएको थियो । त्यो स्वीकृत दिने बेलामा गभर्नर वर्तमान अर्थमन्त्री खतिवडा राष्ट्र बैंकको गभर्नर थिए । अहिले छानबिनमा एपेक्स बैंक बन्ने बेलामा अन्य संस्थासँगको मर्जरको विषयमा समेत छानबिन भएको छ । त्यही कारणले खतिवडासमेत सो छानबिनमा तानिन सक्ने स्रोतको दाबी छ ।

अहिले एपेक्स बैंक घोटालामा ढिलाइ भएको भन्दै गभर्नर नेपाल माथि आरोप लगाइएको छ । तर सो काम नियमित रूपमा गर्दासमेत ढिला हुने हो । सो घोटालाको छानबिन गरी चार्जसिट बनाउनका लागि समय लाग्ने राष्ट्र बैंकले जनाएको छ । बैंकको कानुन विभागले उक्त चार्जसिट बनाउने गर्दछ । चार सय पृष्ठको चार्जसिट बनाउनका लागि लागेको समयलाई गभर्नर नेपालले मिलेमतोमा ढिलाइ गरेको प्रचार गराइएको छ ।

अर्को महत्वपूर्ण विषय भनेको एपेक्स घोटाला प्रकरणका दोषी सबै राष्ट्र बैंकको सूचनाका आधारमा सीआईबीले पक्राउ गरेको हो । बिहान ९ बजे एनसीसी बैंकका बोर्ड सदस्यहरूदेखि एपेक्सका सञ्चालक विष्णु धितालसमेत गभर्नरकोमा पुगेका थिए । गभर्नरले अख्तियारसँग छलफल गरेर सीआईबीलाई खबर गरेपछि बिहान ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो । मिलेमतो भएको भए गभर्नर आफैं उनीलाई पक्राउ गर्ने गरी सीआईबीलाई खबर गर्दैनथे । ‘विगतका गभर्नरकै मिलेमतोमा धेरै बैंकिङ कसुरमा अभियुक्तहरूलाई भगाइएको छ । तर गभर्नर आफ्नै इनिसेसनमा एपेक्स घोटालाको विषयमा छानबिन थाले पनि उनलाई राजनीतिक आधारमा सिकार बनाउने षड्यन्त्र थालिएको हो’ एक पूर्वगभर्नरले भने ।

ती पूर्वगभर्नरका अनुसार मर्जरको निर्णय गरिँदा गभर्नरको अध्यक्षतामा बोर्ड बन्ने र त्यो बोर्डमा डेपुटी गभर्नरहरूसमेत हुने भएकाले एक्लो गभर्नरले तलमाथि गर्न सक्दैनन् । अनि पछि बैंकिङ कसुरको चार्जसिट बनाउनका लागि बोर्डले भनेपछि कानुन विभागले बनाउने भएकाले एक्लो गभर्नरले चाहेर पनि ढिलाइ गर्न नसक्ने ती पूर्व गभर्नरले बताए ।

चिरञ्जीवी नेपाल गभर्नर हुनुभन्दा पहिला नै उक्त बैंक एनसीसी बैंकमा मर्जरमा जाने निर्णय भएको थियो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक २०७२ मंसिर ११ गते नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी) सँग मर्जरमा गएको थियो । करिब डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोपमा एपेक्स बैंकसँग सम्बन्धित १७ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । अहिले राष्ट्र बैंकका एमाले निकटहरू गभर्नर नेपाललाई त्यस्तो फाइल लामो समय लुकाउन सहयोग गरेको भन्ने आरोप लगाई त्यसलाई पुष्टि गर्न राष्ट्र बैंकभित्रकै एक समूह सक्रिय भएको छ ।

तर सरकारलाई गभर्नरलाई हटाउन त्यति सजिलो छैन । यसअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यले तिलक रावललाई पदमुक्त गरेर दीपेन्द्रपुरुष ढकाललाई गभर्नर नियुक्त गरेका थिए । रावलले अदालतको आदेशबाट पुनः पदभार सम्हालेका थिए । पूर्वगभर्नरका अनुसार सरकारले गभर्नरलाई हटाउने आधारको खोजी गर्दै षड्यन्त्रमा लागेको हो । एपेक्स घोटाला काण्डमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गर्ने सकिने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । समितिले दिएको प्रतिवदेनका आधारमा मन्त्रिपरिषद्ले गभर्नर हटाउने निर्णय गर्न सक्ने प्रावधान उक्त ऐनमा छ ।