काठमाडौँ — सरकारले अघिल्लो सरकारको सिफारिसमा जारी तीन अध्यादेश संसद्मा पेस गर्ने प्रक्रिया अघि बढाएको छ । कानुन मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश शुक्रबारै संसद्मा दर्ता गराइसकेको छ ।
गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश सोमबार संसद्मा दर्ता गर्दै छन् । सोमबार संसद्को बैठक बस्दै छ ।
सम्बन्धित मन्त्रालयका मन्त्रीले बैठकमा अध्यादेश पेस गरेपछि संसद्मा त्यसमाथि छलफल हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश सोमबारको सम्भावित कार्यसूचीमा पर्न सक्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।
राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वत: निष्क्रिय हुन्छ ।





प्रतिक्रिया