काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएको २४ वर्ष पूरा भएको छ । यो अवधिमा बागमतीमा धेरै पानी बगिसकेको छ । मदन भण्डारीले नै प्रतिपादन गरेको बहुदलीय जनवादलाई निर्देशक सिद्धान्त बनाएर कयांैं पटक एमाले सरकारमा पुगिसक्यो । सहयोद्धा तीन जना नेता मुलुकको प्रधानमन्त्री बने ।
भण्डारीकी जीनवसाथी विद्या भण्डारी अहिले दोस्रो कार्यकालका लागि मुलुकको राष्ट्रप्रमुख छिन् । तर विद्याले दोस्रो कार्यकाल सम्हालेपछि मोरङको उर्लाबारीमा आयोजित एक कार्यक्रममा मदन भण्डारी चढेको जिपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएपछि फेरि यो बहस सतहमा आएको छ ।
भण्डारी आफंै पनि एमालेको उपाध्यक्ष मन्त्री भएर राज्यको उपल्लो तहमा पुगिन् । अनि अहिले त राष्ट्रप्रमुख नै भएको बेलामा समेत उक्त जिप दुर्घटनाको सत्यतथ्य बाहिर नआउनु दुःखद् भन्दै हिँड्दा आमनागरिकले यसलाई सहज लिएका छैनन् ।
यस्ता घटनाको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर आउनुपर्छ तर जिम्मेवारीमा बसेका जिम्मेवार मान्छे आफैंले भाषणका लागि भाषण गर्दै हिँड्नुले सिंगो एमालेलाई नै लज्जित बनाएको छ ।
विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि मदन भण्डारीको जिप दुर्घटनाको खोजी नहुनु अझै दुःखको कुरा हो । एक प्रकारले भन्दा अहिले पनि एमालेका नेताहरू र विद्या भण्डारीले जिप दुर्घटनालाई सम्झेर छानबिनको विषय उठाउनु अझ दुःखद् हो ।
प्रधानमन्त्री ओली त त्यो बेलामा एमालेका तर्फबाट मदन भण्डारीको जिप दुर्घटनाको छानबिन गर्न त्यतिबेला गठित आयोगका अध्यक्षसमेत थिए ।
ओलीले कुनै बेला भनेका थिए– ‘म सरकारमा गए भने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु ।’ तर आज ओली मात्रै नभएर विद्यासमेत राज्यको सर्वोच्च पदमा दोस्रो कार्यकालका लागि पदासीन भएको अवस्थामा पनि सामान्य नागरिकले जस्तै घटनाको छानबिनको माग गर्दा मदनको आत्माले समेत शान्ति नपाउने राजनीति विश्लेषकहरूले बताएका छन् ।
मदन भण्डारीको जिप दुर्घटना भएर निधन हुँदाको सबैभन्दा बढी पीडा कसैलाई परेको थियो भने विद्यालाई नै परेको थियो । मदनका हत्यारा पत्ता लगाएर कारबाही गराउन उनको मनले नखोजेको त पक्कै थिएन । तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन र फेरि उही प्रश्न उनको मनमा कसरी आयो यो अचम्मको विषय हो ।
नेपालको कम्युनिस्ट आन्दोलनको रूपान्तरणमा मदन भण्डारीको ठूलो योगदान छ । वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो ।
तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरूप भएको एमालेले दाबी गर्दै सडक आन्दोलनमा उदुम मच्चाएको थियो । दुर्घटनामा मदनसँगै रहेका एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो ।
जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जीवितै फर्किन सफल भए । उनको पनि २०६० सालमा रहस्यमय हत्या भएपछि यो घटना अझ रहस्यमय भयो ।
त्यसपछि तत्कालीन बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा आयोग बनाइयो । तर यो आयोगले पनि मदन आश्रितको जिप दुर्घटना वा हत्याकाण्ड खुलाउन सकेन । त्यहीबीचमा एमालेले दासढुंगा काण्डको छानबिन गर्न तत्कालीन स्थायी समिति सदस्य केपी शर्मा ओली आयोग गठन ग¥यो ।
ओली आयोगले पार्टीमा प्रतिवेदनसमेत नबुझाएको चर्चा त्यो बेला चलेको थियो । भण्डारीको हत्या भएको अर्को वर्ष २०५१ सालमा एमालेको अल्पमतको एकमना सरकार गठन भयो ।
नेकपा एमालेका अध्यक्ष रहेका स्व.मनमोहन अधिकारी प्रधानमन्त्री निर्वाचित भए । त्यहीबेला पनि दासढुंगा हत्याकाण्डको छानबिनको चर्को माग फेरि उठ्यो ।
नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन । नौ महिनामात्रै सरकारमा बिताउनु परेको र अल्पमतको सरकार भएकोले सोसम्बन्धी केही प्रगति हुन नसकेको भन्दै एमालेले स्पष्टीकरण दियो ।
पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दाबी गरे । मदन भण्डारीको जिप दुर्घटना भएको २४ वर्षमा एमालेका तर्फबाट माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रधानमन्त्री भए ।
विद्या भण्डारी र केपी शर्मा ओली अहिले राष्ट्रप्रमुख र सरकार प्रमुख छन् । तर जिप दुर्घटनाको खोजी गर्नेभन्दा अझै पनि किन भाषण गर्ने विषय बनाइन्छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख व्यक्त गर्दा धेरै राजनीतिका विश्लेषकहरू गोहीको आँस समेत भन्ने गरेका छन् ।





प्रतिक्रिया