देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाँजासहित दुई जना पक्राउ

देशान्तर

काठमाडौं ।एक सय ६० केजी अवैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागू औषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का इमानसिंह स्याङबोलाई पक्राउ गरिएको जानकारी दिएको हो।

गत शनिवार विशेष सूचनाको आधारमा व्यूरोको टोलीले उनीहरुलाई इन्धन बोक्ने टयांकरमा लुकाईछिपाई राखिएको गाँजासहित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित झ्याप्ले खोला सडक किनाराबाट पक्राउ गरेको हो। ना ४ ख ५३६८ नम्बरको इन्धन बोक्ने टयांकर भित्र अगाडि क्याबिनमा ७ वटा प्लाष्टिकका बोरा भित्र १७ वटा पोकाहरुमा प्याक गरिएको गाँजा बरामद गरिएको व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले दिए।

बरामद लागू औषध गाँजा टयांकरमा लुकाईछिपाई त्रिभुवन राजपथको बाटो हुँदै सर्लाहीको मलंगवाबाट भारत निकासी गर्न लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेका स्याङबो र थोकर दुवै जना विगत लामो समयदेखि अवैध लागू औषध गाँजा कारोबारमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।