देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदीलाई खुसी पार्न ओलीद्वारा चोला परिवर्तन

देशान्तर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले चोला परिवर्तन गरेका छन् । सत्तामा पुग्न र सत्तालाई टिकाउन ओलीले आफ्नो रंग पूरै परिवर्तन गरेका छन् । उनले रंग परिवर्तन गर्न माउसुलीलाई पनि माथ गरेका छन् । चुनावअघि भारतलाई गाली गरेर मत बटुलेका ओलीले सत्तामा पुगेपछि त्यसलाई टिकाउन मोदीको खुलेर चाकडी गरेका छन् । ओली भारतीय प्रधानमन्त्रीको चाकडीमा शिष्यको रूपमा प्रस्तुत भएका छन् । मोदीलाई रिझाउन ओलीले अनेक अभिनय गरे । केहीकेही अभिनय त हास्यास्पद थिए । मोदीको स्वागत गर्न उनी मोदीकै जस्तै पोसाक लगाएर जनकपुर पुगे । आफू मोदीकै पद चिन्हमा हिँड्न तयार रहेको जानकारी गराए ।

पहिलेदेखि भारत नेपालको खुला सिमानालाई बन्द गर्नुपर्छ भनेर माग्ने र पञ्चशीलको आधारमा नेपाल–भारत सम्बन्ध विकसित गर्नुपर्छ भन्ने एमालेले यसपटक मोदीको चाकडीसँगै नेपाल–भारत खुला सिमानाको पक्ष पोषण गरेको छ । मोदीको स्वागत गर्न जनकपुर पुगेका रक्षामन्त्री ईश्वर पोखरेलले खुला सिमानाको पक्षमा नेपाल रहेको सन्देश दिए । वामपन्थी सरकारको यस्तो ताल देखेर वामपन्थीहरूको भारत नीतिको मूल्यांकन गरिरहेकाहरू चकित भएका छन् ।

उनीहरू एमालेको नीतिमा आएको परिवर्तन देखेर तीन छक्क परेका छन् । खुला सिमानाका कारणले नेपाल भारतको क्रीडास्थल बनिरहेको, विभिन्न विकृति बढेको, तस्करी नियन्त्रण गर्न नसकिएको जस्ता विषय उठाएर नेपालका वामपन्थीहरूले खुला सिमाना नियन्त्रण गर्नुपर्ने तर्क गर्दै आएका थिए । नेपालका अपराधी भारतमा शरण लिने गरेको कारणले सीमा नियमित गरिनुपर्छ वा अरू देश सरह गर्नुपर्छ भन्ने एमालेलेले खुला सिमानालाई प्रोत्साहन गर्ने नीति बनाउनुले उसको भारतप्रतिको यसअघि देखाएको दृष्टिकोणमा व्यापक परिवर्तन आएको देखिन्छ । यसले भारतीयहरूलाई पनि नेपाली सरह नै व्यवहार गरिनुपर्छ भन्ने सोचाइ राख्ने र नेपालमा भारतको प्रभाव बढाउन चाहनेहरूलाई खुसी र प्रोत्साहित गर्ने काम गरेको छ ।