देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति देउवा र सरकार विरुद्ध नेविसंघको प्रदर्शन

देशान्तर

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठनले आज राजधानीमा पार्टी सभापति शेरबहादुर देउवा र सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघका नेता–कार्यकर्ताहरुले ‘बहुमतको डण्डा चलाएर, कांग्रेस कमजोर बनाएर, कसरी पार्टी बलियो बन्ला र सभापति ज्यू गुटभित्र रमाएर ?’ भन्ने नारासहित शुक्रबार सभापति देउवालाई विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खबरदारी गरे ।

नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्ला समितिले शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरेको हो ।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्ले लगायत सहभागी थिए ।

कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा पनि लगाएका थिए ।