देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजबाट नारायणगढ-मुग्लिन सडक चौबिसै घण्टा खुला

देशान्तर

चितवन । नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्नेहरुका लागि खुसीको खबर छ । यसअघि दिउँसो ६ घण्टा बन्द हुने सडक आज बुधबारबाट चौबिसै घण्टा खुला हुने भएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार माघ १३ गतेदेखि बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द हुने गरेको सडक आजबाट अब खुला हुने छ।

सडक निर्माणको काम साढे ९१ प्रतिशत पुरा भएको छ। पहाड काट्ने कामका लागि दिउँसो यातायात बन्द हुन्थ्यो। पहाड काट्ने काम सकिएर अब कालोपत्रे गर्ने काम लगभग अन्तिम चरणमा पुगेको सूचना अधिकारी खनालले बताए। विस्तारको काम भइरहेको सडकमा पहिलो तहको कालोपत्रे गर्ने काम पूर्ण रुपमा पुरा भएको छ।

३६ किलो मिटर लामो नारायणगढ मुग्लिन सडकको ३३ किलो मिटरलाई एसियाली मापदण्ड अनुरुप दुई लेनको बनाइदै छ। सडकलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको छ। पहिलो तहको कालोपत्रे सवै सडकमा पुरा हुँदा दोस्रो तहको कालोपत्रे लगभग ३२ किलो मिटरमा भएको छ। अन्तिम अर्थात तेस्रो तहको कालोपत्रे लगभग १३ किलो मिटरमा मात्रै भएको छ।