देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस हेटौंडा घोषणापत्र आज आउने

देशान्तर

काठमाडौँ । असार ५ गते मंगलबारबाट मकवानपुरको हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज हेटौंडा घोषणापत्र जारी गर्दै सकिने भएको छ । बुधबारबाट सुरु बन्दसत्रमा जिल्ला सभापतिहरुको रायलाई समेटेर हेटौंडा घोषणापत्र तयार भइसकेको छ ।

घोषणापत्रमा सरकारप्रति कांग्रेसले हेर्नु दृष्टिकोण, बदलिएको संरचना अनुसार विधान परिमार्जन र संगठन कसरी सुदृढ गर्ने भन्ने विषय समावेश भएका छन् । यी विषय केन्द्रीय समितिमा प्रस्तावका रुपमा लगिने तयारी कांग्रेसको रहेको छ ।

कांग्रेसका ७७ जिल्लाका सभापतिहरुको फिडब्याकको साझा दस्तावेजलाई केन्द्रीय समितिमा लगेर साझा धारणा बनाउने प्रयास गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसका जिल्ला सभापतिहरुले सरकार तानाशाही बन्दै गएको, कांग्रेसको नेतृत्व कमजोर हुन थालेको र कांग्रेसका भ्रातृ संस्थाहरुसमेत कमजोर देखिन थालेको औंल्याएका छन् ।

नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले घोषणापत्रमा सरकारप्रति हेर्ने दृष्टिकोण र कांग्रेसको संगठन सुदृढ बनाउने खालका सुझावहरुलाई समेटेर स्थान दिनुपर्ने धारणा राखे।
घोषणापत्रमा सरकारी रबैया, कांग्रेसप्रति सरकारी आक्रमणको विषयमा पनि समेटेको र पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने विषय प्राथमिकतामा राखिएको बताए ।

मकवानपुरका जिल्ला सभापति इन्द्र बानियाँले सबै तहका सभपतिलाई बलियो हुने गरी घोषणापत्र आउनुपर्ने बताएका भने काभ्रेका सभापति मधु आचार्यले तत्काल स्थानीय निकायदेखि सबैमा टीके प्रथा अन्त्य गरी निर्वाचनको माध्यमबाट स्थानीय पदाधिकारी तय गर्नुपर्ने सुझाव दिएका छन्।

हेटौंडास्थित पल्पसा हलमा सभापतिहरुको भेलाको समापन समारोहमा पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।