देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेठ २ गतेसम्म भिसा लागेका नेपाली मलेसिया जान पाउने

देशान्तर

काठमाडौँ । सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने आइतबार निर्णय गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् ।

काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो। वैदेशिक श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति लिएपछि मात्रै मलेसिया जान पाउने व्यवस्था छ।

‘जेठ २ गतेसम्म दूतावासबाट भिसा स्ट्याम्पीङ भएका कामदारलाई श्रम स्वीकृति दिने निर्णय भएको छ,’ श्रम मन्त्री गोकर्ण विष्टले भने, ‘अरुको हकमा सरकारको निर्णय यथावत रहनेछ।’ गत जेठ २ गते श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले कामदार माथिको आर्थिक भार नहटाएसम्म नेपालीलाई मलेसिया नपठाउने निर्णय गरेपछि भिसा पाइसकेका कामदारले समेत श्रम स्वीकृति पाएको थिएनन्।

जेठ २ गते अघि नै दूतावासबाट ४ सय ५३ र २ गतेपछि झन्डै २५ सय कामदारको भिसा स्ट्यापीङ भएको थियो। उनीहरुलाई अन्तिम श्रम स्वीकृति दिन पेश गरिएको फाइल वैदेशिक रोजगार कार्यालयमा रोकिएको थियो। जेठ २ अघि भिसा लागिसकेका कामदारको भिसाको म्याद यो साता समाप्त हुँदै छ।

भिसा पाइसकेका कामदारहरु यो साताभित्र जान नपाए मलेसियाको अध्यगमनले कालोसूचिमा राख्ने र भविष्य समेत जान नपाउने स्थिति आउन सक्थ्यो। ‘जबसम्म मलेसियाले कामदारमाथि आर्थिक भार पर्ने गरी लगाइएका आफ्नो पूर्ववत नितिलाई परिवर्तन गर्दैन तबसम्म नेपाल सरकारको मलेसियामा कामदार नपठाउने निति यथावत छ,’ श्रम मन्त्रालयका उच्च अधिकारीले भने, ‘भिसा प्रक्रिया शुरु हुनुअघिको पूर्व श्रम स्वीकृति दिने कार्य पहिलेकै अवस्थामा राकिएको छ।’

वैदेशिक रोजगार बिभागले मलेसियन कम्पनीको मागपत्रलाई पुर्व श्रमस्वीकृति दिएपछि मात्रै कामदार लैजानको लागि अन्तर्वार्ता गर्नको लागि बाटो खुल्छ। पुर्व श्रमस्वीकृति विना कामदारको अन्तर्वार्ता गर्ने कार्य गैरकानुनी हो।