नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार सर्वसत्तावादतिर अघि बढेको बताएका छन् ।
प्रेस युनियन, बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रीय सदस्य डा. कोइरालाले कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनसन बसेका व्यक्तिलाई जबरजस्ती उठाउने, उपकुलपतिलाई प्रहरीले समातेर प्रधानमन्त्री समक्ष लैजाने, ट्रमा सेन्टरमा विरामी हेरिरहेका व्यक्तिलाई समातेर गृहमन्त्रीसमक्ष पुगाउने, कानून सम्मत अघिल्लो सरकारले गरेका निर्णयहरु उल्ट्याउने, माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने गतिविधिले सरकार सर्वसत्तावादतिर अघि बढेको देखिएको बताए ।
‘दुई तिहाईको सरकार छ । जे गरे पनि हुन्छ भन्ने सरकारको दम्भ छ । लोकतन्त्रमा एकजना भएपनि विरोधीको स्वर सुन्नुपर्छ, डा. कोइरालाले थपे, यस्तै दम्भ रहे ओलीको हालत पनि अरुको जस्तै हुन्छ ।’
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई ओली सरकारले अगाडि बढाएकाले त्यसलाई संसदमा छलफल गराएर पारित गरी विधेयक बनाउदा डा. केसीको माग सम्बोधन हुने डा. कोइरालाको भनाई थियो । उनले डा. केसीलाई मोहरा बनाएर कांग्रेसले आन्दोलन थालेको कुरा गलत भएको बताए ।
डा. कोइरालाले सरकारको राम्रो कुराको कांग्रेसले समर्थन गरिरहेको उल्लेख गरे । ‘ओलीले पानी जहाज, रेल ल्याउँछु भन्नु भएको छ । त्यो छिटो ल्याउनुस् हामीले पनि भनिरहेका छौं, डा. कोइरालाले भने, समृद्धि निर्माणमा हामीले सहयोग गर्छौ । आन्दोलनमा जाने हाम्रो रहर होइन।’
नजिकिदो १४ औं महाधिवेशनमा तपाई पार्टीको सभापतिको उम्मेदवार हो ? भन्ने प्रश्नमा डा. कोइरालाले अहिले नै त्यो भन्ने बेला नआएको बताए।
पत्रकार सम्मेलनमा रहेका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार यही रवैयाले अघि बढेमा प्रधानमन्त्रीको राजीनामा माग्नु पर्ने बेला आउने चेतावनी दिए । उनले सरकारको पछिल्लो गतिविधिले लोकतन्त्र घुम्ने खतरा रहेको चिन्ता गरे । वीपी जयन्ती मनाउन नेपालगञ्ज आएका केन्द्रीय नेताहरु कार्यक्रममा सहभागी हुन सोमबार बिहान नै बर्दियातिर लागेका छन् ।





प्रतिक्रिया