देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई सचेत गराउन आन्दोलनमा उत्रिएका हौँ : काँग्रेस

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न आन्दोलन नगरिएको बताएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर कांग्रेसले डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउँदै मंगलबार दिउँसो काठमाडौंमा आयोजना गरेको विरोध सभामा नेताहरुले ओली सरकारलाई सचेत गराउनमात्रै आफूहरु आन्दोलनमा उत्रिएको बताएका हुन् ।

उनीहरुले साउन १५ गतेसम्म सरकारले आफ्ना कदम नसच्याए कांग्रेस अझै आक्रामक ढंगबाट सडक र संसदमा प्रस्तुत हुने पनि चेतावनी दिए । नयाँ बानेश्वरमा आयोजित विरोध सभामा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले भने, ‘‘हाम्रो विरोध सरकार ढाल्न होइन र सत्ता र कुर्सी हल्लाउन पनि होइन । हामीले त डा. गोविन्द केसीको माग पूरा गर भनेर सरकारलाई खबरदारी गरिरहेका हौं ।’’

डा. केसीको आन्दोलनमा ऐक्यवद्धता, प्रधानमन्त्री ओली, ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कांग्रेसप्रतिको हेपाहा प्रवृत्ति र सरकारका मन्त्रीहरुले नेपाली चेलीहरुमाथि लगाएको लान्छनाको विरोधमा कांग्रेस आन्दोलनमा उत्रिएको उनको भनाइ थियो ।

यस्तै, काठमाडौंका सभापति सुवजु कृष्ण बानियाँले कांग्रेसले सरकार संस्कार र सुशासनमा बसोस् भनेर सचेत पार्नका लागि आन्दोलन गरिएको बताए । ‘‘हामी सरकार ढाल्न होइन, सरकारलाई संस्कार र सुशासन सिकाउन, सचेत बनाउन आन्दोलन गरेका हौं,’’ उनले भने ।

कांग्रेसले वर्तमान सरकारलाई ढाल्न केही गर्नै नपर्ने जिकिर गर्दै सभापति बानियाँले चुनावअघि गरेका आफ्नै बाचाहरु पूरा गर्न नसकेर सरकार ढल्ने दाबी गरे । उनले प्रधानमन्त्री ओली र सरकारका मन्त्रीहरुलाई बहकिएर नबोल्न सुझावसमेत दिए ।

‘‘कपोकल्पित कुरा गरेर सत्ता त पाउनुभयो, सत्ता सञ्चालन गर्ने ढंग भएन । ढंग पुर्याउनुस्,’’ काठमाडौं सभापति बानियाँले भने, ‘‘उखान टुक्का, कथा होइन, पदीय मर्यादा ख्याल गर्नुस् ।’’

यस्तै कांग्रेस ललितपुरका सभापति मदन अमात्यले पूर्ववर्ती सरकारले ल्याएको विधेयक हुबहु कार्यान्वयन गरेर डा. केसीको माग पूरा गर्न माग गरे । ‘‘हामी सरकार ढाल्न आएका होइनौं । डा. केसीमाथि सरकारले बर्बर अन्याय गर्यो । सरकार नागरिकप्रति उत्तरदायी भएन । उसलाई जिम्मेवारी बोध गराउन हामी आएका हौं,’’ उनले भने ।

उखान–टुक्का, रेल, पानीजहाजले देश नचल्ने भन्दै अमात्यले सरकारलाई जनताका आवश्यकताहरुमा केन्द्रीत हुन सचेत गराए । कांग्रेसको मंगलबारको आन्दोलन सांकेतिक मात्रै भएको जिकिर गर्दै उनले एक हप्ताभित्र सरकार नसच्चिए कांग्रेसले साउन १५ गते देशव्यापी आन्दोलन गर्ने बताए ।

प्रजातन्त्रमा सरकार शासक नभई व्यवस्थापक हुने भन्दै सभापति अमात्यले प्रधानमन्त्री ओलीलाई शासक बन्ने सपना नदेख्न चेतावनीसमेत दिए । कांग्रेसका नेताहरुले सोमबार ओली र प्रचण्डले कांग्रेसलाई लक्षित गरेर दिएका अभिव्यक्तिप्रति आपत्तिसमेत जनाएका छन् ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै काठमाडौं, ललितपुर र भक्तपुर कांग्रेसले संयुक्त रुपमा आयोजना गरेको विरोध प्रदर्शन माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।