बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको पहल (बिम्स्टेक)को चौथो सम्मेलनका लागि एजेन्डा तय गर्ने विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ ।
राजधानीको सोल्टी होटलमा सम्पन्न बैठकले बिम्स्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, वडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका बिषयमा छलफल र सहमति गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।
बैठकमा बिम्स्टेकका सरोकारका १४ वटा विभिन्न प्रतिवेदनमा छलफल भएको थियो । ब्यापार तथा लगानी, यातायात तथा सञ्चार, सीमापार अपराध, प्रतिआतंकबाद, गरिबी निवारण, कृषिलगायतका विषयका प्रतिवेदन बैठकमा पेश भएका थिए ।
बैठकले बिम्स्टेकले हाल तय गरेका १४ वटा प्राथमिकता क्षेत्रलाई पुनर्विचार गर्ने सहमति गरेको छ । १९औ चरणको सचिवस्तरीय बैठकले बिम्स्टेकको वडापत्र बनाउने विषयमा पनि सैद्धान्तिक सहमति कायम गरेको छ ।
चौथो शिखर सम्मेलनका लागि चासोका साथ हेरिएको अन्तरदेशीय विद्युत् प्रसारण लाईन (पावर ग्रीड इन्टरकनेक्सन) संझौता गर्न यो बैठकमा सहमति जुटेको छ । बैठकले बिम्स्टेक सचिवालयले पेश गरेका प्रशासनिक तथा प्राविधिक प्रस्तावहरु पनि पारित गरेको छ । भोली विम्स्टेकको मन्त्रीस्तरीय बैठक बस्नेछ । उक्त बैठकले सिखर सम्मेलनका एजेन्डालाइ अन्तिमरूप दिनेछ ।





प्रतिक्रिया