देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाभित्र भावगण्डा नमिल्दा संसदीय समितिको सभापति चयन फेरि सर्यो

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र भावगण्डा नमिल्दा प्रतिनिधिसभाका विषयगत समितिको सभापति चयनको मिति फेरि सरेको छ ।

१७ गते आइतबार बिहान प्रतिनिधिसभाका दशवटै समितिको सभापति चयन गर्ने र त्यसका लागि शनिबार मनोनयनका गर्ने गरी तय भएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका स्थगित भएको संघीय संसद सचिवालयले सूचना प्रकाशित गरेर जनाएको छ ।

स्रोतका अनुसार नेकपाभित्रै कस कसलाई सभापति बनाउने भन्ने विषयमा निर्णय नहुँदा चुनावको मिति सारिएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विमस्टेक सम्मेलनमा व्यस्त भएपछि संसदीय समितिको सभापतिबारे छलफल गर्न नपाइएपछि नेकपाको आग्रहमा संसद सचिवालयले चुनावको मिति सारेको हो ।

त्यस्तै प्रतिपक्षी कांग्रेसलाई लेखा बाहेक अर्को एउटा समिति, राजपा, संघीय समाजवादी फोरम र सूर्य चिन्ह लिएर चुनाव लगेकालाई पनि एक एकवटा समितिको नेतृत्व दिने सहमति भएपछि थप छलफलका लागि विषयगत समितिको चुनाव सारिएको नेकपाका एक नेताले जानकारी दिए ।

सबै दललाई समितिको सभपाति दिँदा केही सांसदको समिति स्थानान्तरण गर्नुपर्ने भएकाले पनि १७ गतेको चुनाव सारिएको हो । अहिले लेखा समितिमा रहेका सूर्य चिन्ह लिएर चुनाव लडेका हृदेश त्रिपाठी अर्को समितिमा स्थानान्तरण गरेर सभापति बनाइने भएको छ ।

१८ गते बस्ने संसदको पूर्ण बैठकले सांसदको समिति स्थानान्तरण गराएर संभवत २१ गतेका लागि चुनावको मिति तोकिने स्रोतको भनाइ छ । यसअघि भदौ ५ गतेका लागि तय गरिएको निर्वाचनको कार्यक्रमा १७ गतेका लागि पु¥याइएको थियो ।

समितिको सभापति चयन सरिरहँदा मौलिक हकसम्बन्धी कानुन निर्माण प्रभावित हुने भएको छ । असोज २ गतेभित्र मौलिक हकसँग सम्बन्धित १७ वटा विधेयक पारित गरिसक्नुपर्ने भए पनि अहिलेसम्म एउटा पनि पारित भएको छैन ।

अधिकांश विधेयक समितिमा पुगेका छन् तर स्थायी नेतृत्व नहुँदा प्रभावकारी छलफल हुन नसकेको सचिवालयको भनाइ ।

प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि र सार्वजनिक लेखा समिति छन् ।