देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँको ज्याँथामा भिषण आगलागी

देशान्तर

काठमाडौँ । राजधानी काठमाडौँको ज्याँथा क्षेत्रमा भिषण आगलागी भएको छ । मंगलबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागीपछि ५ वटा भन्दा धेरै दमकल आगो निभाउन पुगेका छन ।

जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित सुनिलजंग स्थापितको घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कम्तिमा पनि २ घरको अधिकांश भाग जलेको छ भने अर्को एउटा घरमा पनि क्षति भएको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएका थिए ।

आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हापफालेर भाग्ने क्रममा घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

स्थानीयबासी सागर तुलाधरका अनुसार मिनेट मिनेटको अन्तरमा पुरै ज्याथा क्षेत्र थर्किने गरी करिब ४० देखि ५० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए । उनिहरुका अनुसार अक्सिजन ग्यास सिलिन्डर विस्फोटको आवाजले ज्याथा र क्षेत्रपाटी क्षेत्रबासीबीच भागाभाग भएको थियो ।

ग्यास विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका छन् ।

आगोले ठुलो रुप लिएपछि अहिले जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका छन् । तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउने कोशिश भइरहेको छ ।

करिब एक घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण बिजुली सर्टबाट बताइए पनि प्रहरीले एकिन नभइसकेको जनाएको छ । अहिले ज्याथातर्फबाट दुइटा र ठमेलतर्फबाट एउटा दमकलले आगो निभाइरहेका छन् ।