देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१३ वर्षिया बालिका निर्मला हत्या प्रकरणः एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

देशान्तर

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन ।

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन् ।

‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्ने, उनीहरूका कल डिटेल हेरिनुपर्ने भन्दै निर्मलाका मामा केशव भण्डारीले एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्ने माग गरेका छन् ।

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन् ।

एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन् । ४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन भन्दै उनले निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै छोरीको हत्यामा संलग्न रहेको बताइन ।

घरमा भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आउँदा पनि छोरीको हत्यामा प्रहरीभित्रैको मान्छेको हात भएको शंका छ, प्रहरीभित्रै अनुसन्धान गरिदिनुहोस् भनेर आफूले अनुरोध गरेको उनले स्मरण गराइन् ।

निर्मलाका बुबा यज्ञराज पन्त प्रहरी सुरुदेखि नै धम्क्याउन र दोषी बचाउने खेलमा मात्र लागेको बताए । अहिलेसम्म दोषी पत्ता नलाग्नुको कारण छोरीको हत्यामा प्रहरी संलग्न भएकाले नै हो भन्दै उनले कानुन सबैलाई लाग्नुपर्ने, शंकास्पद प्रहरीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्ने र सुरुदेखि प्रमाण नष्ट गर्न खोज्ने प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने बताए ।

शक्तिशाली हत्यारा बचाउन प्रहरीले नियतबस प्रमाण नष्ट गर्ने, अनुसन्धान गर्नुपर्नेलाई नगर्ने र निर्दोषलाई दोषी साबित गर्न खोजेको उनिहरुको आरोप छ ।

निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताए ।

उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण गरिने बताए । एसपी बिष्टको पनि डिएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले ठूलोसानो जोसुकै भए पनि सबैको डिएनए परीक्षण गरिने आश्वासन दिए ।

दिलीप बिष्टको डिएनएले मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट शंकाको घेरामा तानिएका छन् ।

स्थानीयले एसपी बिष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

दिलीप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डिएसपी र उच्च तहका प्रहरीतिरै सोझिएको स्थानीय बताउछन ।