काठमाडौं । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।
प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो ।
मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारवाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले सडक र सवारी सञ्चालन हुने मुलुकको सबै क्षेत्रमा ट्राफिक प्रहरी पु¥याउने लक्ष्यअनुसार ट्राफिक प्रहरी कार्यालय विस्तार गरिएको जानकारी दिनुभयो ।
उहाँले संविधानअनुसार निर्माण भएको सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना गरेको बताउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गरेको १० बुँदे प्राथमिकताको आधारमा सबै प्रदेशमा ट्राफिक कार्यालय पु¥याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





प्रतिक्रिया