देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माइतीघरमा फहराइयो १० मिटर अग्लो राष्ट्रिय झण्डा

देशान्तर

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौँको माइतीघर मण्डलमा १०० मिटर लामो झण्डोत्तलन गरेका हुन् ।

योग्य तथा दक्ष युवा विदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संगठनका नेताले रोजगारमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकाले त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै संविधानमा कहीँ कतै कमजोरी भएमा आपसी छलफल तथा संवाद्को माध्यमबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अधिकार लिपिबद्ध भएको दिनमा मुलुकलाई समृद्धिको बाटामा अघि लानुपर्ने बताए । अध्यक्ष पौडेलले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, जनतासमेत लाग्नुपर्नेमा जोड दिए ।

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले वर्तमान संविधानले महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएको वर्गलगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको उल्लेख गर्दै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउन नहुने बताए ।