काठमाडौँ । मलेसियाको क्वालालम्पुर र सेलाङ्गगोर राज्यमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ। थप ४ जनाको अवस्था गम्भीर छ भने अन्य ७ जनाको स्वास्थ्य सुधारोन्मुख छ। मृतकको शव नेपाल पठाउन समस्या भएको मलेसियास्थित कार्यबाहक राजदूत कुमार खरेलले जानकारी दिएका छन्।
गत भदौ ३१ गते मलेसियाको क्वालालम्पुर र सेलाङ्गगोर राज्यमा विषाक्त मदिराबाट २५ जना नेपाली प्रभावित भएका थिए। सुनगाई बुल्ह अस्पतालमा उपचार गरिरहेका थप २ जनाको शनिबार बिहान निधन भएको खरेलले जानकारी दिएका छन्। तर उनीहरूको स्पष्ट परिचय खुलेको छैन। स्वास्थ्यमा सुधार भएपछि ५ जना अस्पतालबाट डिस्चार्ज भएको कार्यवाहक राजदूत खरेलले बताए।
उपचार खर्च, क्षतिपूर्ति र बीमा दावी गर्न कामदार वैधानिक रहेको र तोकिएकै कम्पनीमा काम गरेको हुनुपर्ने व्यवस्था छ । बीमा दावी गर्न कार्यस्थलमै दुर्घटना भएको हुनुपर्ने तर मदिरा सेवन गरेको पाइए दावी कमजोर हुने अवस्था छ। मदिरा सेवनका कारण मृत्यु भएकाहरूको प्रहरीले थप अनुसन्धान र परीक्षण गर्ने भएकाले शव नेपाल फर्काउने प्रक्रिया पनि लम्बिएको छ।
मृतकमध्ये २ को शव नेपाल पठाउन प्रहरीले अनुमति दिए पनि केही समय लाग्ने दूतावासले जनाएको छ। कति कामदार वैधानिक तथा तोकिएकै कम्पन्नीमा काम गरिरहेका थिए भन्ने स्पष्ट नहुँदा प्रभावितले पाउने सुविधा पूर्ण रुपमा लागू भएको छैन। त्यसको लागि कानुनी परामर्श भइरहेको दूतावासले जनाएको छ।





प्रतिक्रिया