काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् । भाडा १० प्रतिशतले वृद्धि भएसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि दशैंमा काठमाडौंबाट घर जाने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको हो ।
यातायात व्यवस्था विभागले शनिवार सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरे पनि व्यवसायीहरूले आधिकाकि पत्र नपाएको भन्दै सोमवार मात्रै टुंगो लाग्ने बताएका छन् । महासंघका महासचिव सरोज सिटौलाले सरकारको आधिकारिक चिट्ठी पाएपछि बैठक बसेर अग्रिम टिकट खोल्ने बताए ।
उनले लामो समयदेखि नबढेको भाढा बढेको भन्दै सम्भावतः आज आधिकारिक चिट्ठी पाउँने बताए । उनले सोमबार बैठक बसेर टुंगो लगाउने बताए । व्यवसायीले मंगलबारदेखि बुकिङ खुल्ने संकेत गरेको छ।
व्यवसायीहरूले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि यातायातको भाडा नबढाएको भन्दै बुकिङ खोल्न असहमति जनाएका थिए । सरकारले भने दशैंको मुखमा भाडा बढाउँदा सरकार र व्यवसायी दुवैका लागि राम्रो नहुने भन्दै यसमा सहमति जनाएको थिएन । व्यवसायीहरूको अडानका कारण सरकारले भाडा बढाउने निर्णय गरेको हो ।
एक महिनामा दुई पटक गरेर डिजेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि भएपछि महासंघले बस भाडा वृद्धि गर्न वा डिजेलमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएको थियो । वृद्धि भएको भाडा आइतवार असोज बाट लागू भएको छ । २०७२ सालपछि यातायात भाडा वृद्धि भएको थिएन ।





प्रतिक्रिया