देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला प्रतिवेदन मन्त्रिपरिषदपछि सार्वजनिकः गृहमन्त्री थापा

देशान्तर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताएका छन् ।

पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने उनले बताए ।

उनले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने पनि बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारले दण्डित गर्ने बताए ।

गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए ।

उनले जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको दाबी गरे ।

मन्त्री थापाले विगतमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको भन्दै सरकारले शान्ति सुरक्षाको अनुभूति दिएको बताए ।

सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई घेराबन्दी गर्ने काम गरिरहेकोभन्दै उनले मुलुकमा अस्थिरता चाहनेले सरकार गिराउनेसम्मको षड्यन्त्रभइरहेको आरोप लगाए ।

गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न आइतबार विराटनगर पुगेका थिए।