काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको क्रिरा शिख मैदानमा जारी खेलमा युएईले नेपालसामु जितका लागि २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिला ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको छ। युएईका लागि ओपनिङ ब्याट्म्यान कप्तान फहद नवाज र अन्स टन्डनले अर्धसतकिय पारी खेले। नवाजले ९४ बलमा ५ चौंका र ३ छक्काको मद्दतमा ८४ र टन्डनले ८२ बलमा ८ चौंका र १ छक्काको सहायतामा ६७ रन बनाए। त्यस्तै ब्रान्डन एडमले १९, वसी शाहले १८, अलि मिर्जाले १६, फिग्य जोनले १५, स्याइद हाइदेरले १२ र पालानिएपेन मेइयाप्पेनले ११ रनको योगदान दिए। नेपालका लागि पवन सरार्फ, नन्दन यादव र रसिद खानले २–२ तथा सुर्य तामाङ र सागर ढकालले एक–एक विकेट लिए। अबको केही समयपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ।
अघिल्ला दुई खेलमा पराजित हुँदै बाहिरिसकेको नेपाल युएईलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। यता, युएईपनि पहिलो जितको खोजीमा रहनेछन्। समूह ‘ए’ मा रहेको नेपाल र युएईले अंक तालिकामा खाता खोल्न सकेका छैनन्। दुवैले अघिल्ला दुई खेल गुमाएका छन्। यस समूहबाट भारत र अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। नेपाल पहिलो खेलमा भारतसँग १ सय ७१ र दोस्रो खेलमा अफगानिस्तानसंग ३ विकेटले पराजित भएको थियो।





प्रतिक्रिया