देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वराजा वीरेन्द्रको ८७ अर्ब सम्पत्ति

देशान्तर

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ ।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको बताए । सो सम्पत्तिलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने उद्देश्य रहेको उनले बताए । सो कार्यान्वयन गर्न निर्दे्शिका तयार गरिएको पनि उनले बताए ।

नेपाल ट्रस्टमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्ति अन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको र चल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैंया प्राप्त भएको सचिव सिंहले जानकारी दिए ।

यसैगरी, विदेशी मुद्रा अन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार डलर प्राप्त भएको छ भने नविल बैंकमा ४ लाख ३५ हजार सेयर, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० सेयर, नेपाल पब्लिक निगममा ३७ सय ५० सेयर लगानी देखिएको छ ।

यस्तै, रत्नमन्दिर पोखरा, दियालो बंगला चितवन र मकवानपुरके बंगलामा अचल सम्पत्ति रहेको उनले बताए । पोखराको फेवातालमा मात्रै करिब २ सय रोपनी जग्गा रहेको उनले जानकारी दिए । हालैमा दुईवटा जग्गा फेला परेको पनि उनले बताए ।

पूर्व अधिराजकुमारी प्रेरणाका नाममा उहाँ बसेको १५ रोपनी क्षेत्रफल भएको जग्गालाई सर्वोच्चको आदेशपछि नेपाल ट्रस्टको नाममा ल्याइएको छ भने प्रेरणाको नजिकै एकजना व्यक्तिको नाममा रहेको अढाई रोपनी जग्गा पनि एक महिना अघि ठाउँ छोड्न आदेश दिइएको उनले बताए ।

२०५८ सालमा राजा वीरेन्द्र र उनका परिवारको वंशनाश हुनेगरी राजदरबार हत्याकाण्ड भएको थियो। २०६२—०६३ को आन्दोलनपछिको परिवर्तनले राजतन्त्रको अन्त्य भएपछि वीरेन्द्र र उनको परिवारको सम्पबिको खोजी गर्न अन्तरिम संविधानमा नेपाल ट्रस्टको स्थापनाको व्यवस्था गरिएको थियो ।

अन्तरिम संविधानको धारा १५९ मा नेपाल ट्रस्टको विषयमा उल्लेख गरिएको थियो । जसबमोजिम २०६४ साल मंसिर ६ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो ।

पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्य र उनका छोरा दिपेन्द्र, निराजन र छोरी श्रुतीका नाममा रहेको सम्पत्तिको खोजबिन स्वदेश र विदेशमा भइरहेको नेपाल ट्रष्टका सचिव डा. सिंहले जानकारी दिए ।

नेपाल ट्रष्टका सचिव डा. सिंहले राजा वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति खोजी गर्नका लागि गठित सात सदस्यीय समितिले तयार गरेको प्रतिवेदन पनि प्राप्त भएको बताए ।

उनले नेपाल ट्रस्टका सहसचिवको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी दिए । समितिले सम्पत्ति रहेको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गरेमा लुकेर रहेको चल अचल सम्पत्ति अझै भेटिन सक्ने सुझाव दिएको बताए । उनले अब विदेशमा लुकाइएको सम्पतिमा नेपाल ट्रष्टको ध्यान गएको बताए । नागरिकमा खबर छ ।