एजेन्सी । सन् २०१८ को नोबेल शान्ति पुरस्कार ईराककी मानव अधिकार कार्यकर्ता नादिया मुराद र कङ्गोका प्रसिद्ध चिकित्सक डेनिस मक्वेगेले प्राप्त गरेका छन् । यस वर्षको नोेबेल शान्ति पुरस्कारले विश्वको आधाभन्दा बढी जनसङ्ख्या रहेको महिलाहरुको प्रतिनिधित्व गर्दै तिनको अधिकार र सुरक्षामा केन्द्रित रहेर उनीहरुमाथि कुनैपनि प्रकारको हिंसा गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने सन्देश बोकेको नर्वेजियन नोबेल कम्युनिटीकी सदस्य बेरिट रेइस एन्डर्सनले शुक्रबार विजेताबारे घोषणा गर्दा बताइन् ।
नादिया मुराद आतङ्ककारी समूह आइएसआइएस लडाकुको कब्जापछि बलात्कार र भयानक हिंसाको शिकार हुने तीन हजार याजिदी महिलाहरुमा पर्छिन् । तर, एक मुसलमान परिवारको सहयोगबाट उनी आइएसआइएसको कैदबाट मुक्त हुन सफल भएकी थिइन् । यसपछि २०१६ मा मुरादले आफूलगायत हजारौँ याजिदी महिला र बालिकाहरुमाथि भएको हिंसाबारे अमेरिकी कंग्रेसमा बहादुरीपूर्वक रिपोर्ट गर्दै सबैसमक्ष आइएसआइएसको आतङ्क हटाउन पहल गरेकी थिइन् । हाल उनी मानवअधिकारवादी कार्यकर्ताका रुपमा कार्यरत् छिन् । यसरी उनलाई हजारौँ पीडितहरुको आवाज बनी बहादुरीको काम गरेकामा नै नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको हो ।
त्यसैगरी कङ्गोका प्रख्यात सर्जन तथा पान्जि अस्पतालका संस्थापक एवम् निर्देशक डेनिस मक्वेगेले पनि यौन हिंसाका शिकार भएका महिलाहरुलाई आफ्नै देशभित्र उद्धार गर्दै आइरहेका छन् । उनले हालसम्म हजारौँ महिलाहरुको शल्यक्रिया गराई तिनलाई मानसिक परामर्श र उपचार प्रदान गरिरहेका छन् । यसरी सबैबाट अपहेलित हुने महिलाहरुको सहयोग गरी उनीहरुलाई नयाँ जीवन प्रदान गरिरहेकाले उनलाई ‘महिलाहरुको मर्मत गर्ने पुरुष’ र ‘कङ्गोका दूत’ को नामसमेत दिइएको छ । यस प्रकार दुवै विजेताहरुले आफ्नो व्यक्तिगत सुरक्षालाई जोखिममा राख्दै बहादुरीपूर्वक महिलाको पक्षमा संघर्ष गरिरहेकाले नै उनीहरु यसवर्ष नोबेल शान्ति पुरस्कारले सम्मानित भएको सिएनएनले जनाएको छ ।





प्रतिक्रिया