काठमाडौँ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७४औं दिनमा सार्वजनिक प्रतिवेदनप्रति उनका बाबु आमाले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरुले घटनाको सबै अनुसन्धान भइ अपराधीका विषयमा प्रष्ट प्रतिवेदन आउँछ भन्ने सोचको तर, छानबिन समितिको प्रतिवेदनमा उल्लेख कुरा सबैलाई जानकारी नै भएका मात्र आएको र यसले आफुहरुका लागि हर्स न विस्मात झंै भएको बताएका छन ।
प्रहरीले प्रमाण नष्ट गरेर अपराधी लुकाउन खोजेको सबैले भन्दै आएको कुरा हो भन्दै उउनिहरुले प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको किटान गरी उनीहरूलाई वर्खास्त गर्नुपर्ने भन्ने समेत लेख्न नसकेको बताए ।
सरकारले शंकाको घेरामा रहेका मानिसलाई सुरक्षा दिएर न्याय माग्ने जनतालाई दुःख दिएको उनिहरुको आरोप छ । अनुसन्धानका क्रममा लापरवाही गर्ने जो कोहीलाई कारबाही भएको हेर्ने मन भएको निर्मलाकी आमा दुर्गादेवीले बताएकी छन । छानबिन समितिसहितका सबैले प्रष्ट रूपमै प्रहरीले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन बुझाइ सकेपछि पनि किन उनीहरूमाथि कारबाही भएको छैन भन्दै उनले प्रधानमन्त्रीमाथि नै प्रश्न गरेकी छन ।
एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई हत्याराका बारे सबै कुरा थाहा हुन सक्ने भन्दै सरकारले अझै पनि न्याय दिन चाहे गहन अनुसन्धान गर्नुपर्ने बताइन । छोरीका हत्यारा पक्राउ गरी न्याय देउ भन्दाभन्दा आफु थाकिसकेको भन्दै उनले प्रतिवेदनबाट समेत अपराधीका विषयमा प्रष्ट कुरा नआएको र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनपछि झनै न्यायको आश मरेको बताइन् ।
छानबिन समितिको प्रतिवेदनले नौलो विषय नसमेटिको कञ्चनपुरवासीको भनाइ छ । नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारी पनि उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा सन्तुष्ट देखिएकी छैनन । न्यायका लागि सडकबाट आन्दोलन गरिरहेका मानिसले जे कुरा भनिरहेका छन, त्यो बाहेक घटनाको वास्तविकता प्रतिवेदनमा नसमेटिएको उनको भनाइ छ ।
साउन १० मा साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो । घटनाको छानबिन गर्न दबाब बढेपछि सरकारले भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।





प्रतिक्रिया