देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जयनगर–जनकपुर रेलवेको भार परीक्षण

देशान्तर

काठमाडौँ । विगत पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ । भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो ।

जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागका साइट इन्जिनियर विनोदकुमार ओझाको दाबी छ ।

सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक बोगी (डब्बा) सहित रेल बुधबार दिउँसो जनकपुर आइपुगेको हो । उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट (गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार बिहार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीस्थित पूर्व–पश्चिम राजमार्गको बर्दिबास खण्डसम्ममा रेल ल्याउने योजना छ ।

सम्झौता भएको एक वर्षपछि निर्माण कार्य सुरु गरेको भारत सरकारले जयनगर–जनकपुर–कुर्था खण्ड ३५ किलोमिटर रेलमार्ग मंसिर मसान्तभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी ओझाले दिए ।

जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागका साइट इन्जिनियर विनोदकुमार ओझाको दाबी छ ।

अबको तीन साताभित्र यस खण्डको सम्पूर्ण निर्माण कार्य सकेर मंसिर मसान्तभित्र औपचारिक रुपमा उद्घाटन गरी नियमित रेलवे सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । यसका लागि आवश्यक तयारी भइरहेको छ ।

तयारीको गति हेर्दा निर्धारित समयमै रेलवे सञ्चालन हुनेमा कुनै शंका गर्ने ठाउँ भने धेरै रहेका छन । कुर्थादेखि महोत्तरीको बिजलपुरा हुँदै जयनगरसम्म रेल पुग्न थप एक वर्ष लाग्नसक्ने उनको अनुमान छ । रेलवे निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कुर्थासम्म रेलसेवा सञ्चालन भएसँगै अगाडिको कामले गति लिने बताए ।

नेपालका तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणक्रममा भारतीय नाकासँग जोडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झौता भएको थियो । जलपाइगुडी–काँकडभिट्टा ७० किलोमिटर, जोगबनी–विराटनगर १७.६५ किलोमिटर, जयनगर–जनकपुरधाम–बर्दिबास ६९ किलोमिटर, नौतुना–भैरहवा १५.३ किलोमिटर र रुपैडिहा–नेपालगन्ज १२.११ किलोमिटर रेलमार्ग भारत सरकारले निर्माण गरिदिने सम्झौता भएको थियो।

पाँच सय ४८ करोड भारतीय रुपैयाँ (करिब ८ सय ७७ करोड नेपाली रुपैयाँ) लागतमा निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गको काम दुई चरणमा भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्था स्टेसनसम्म ३५ किलोमिटर रेलमार्गको काम अन्तिम चरणमा पुगेको छ ।

कुर्थाबाट भंगहासम्म १७ किलोमिटर खण्डको ७५ प्रतिशत काम सम्पन्न भएको साइट इन्जिनियर ओझाले बताए । भंगहादेखि बर्दिवाससम्म अर्को १७ किलोमिटर रेलमार्ग निर्माणका लागि नेपाल सरकारका तर्फबाट रेल विभागले जग्गा अधिग्रहणको काम गरिरहेको छ। उक्त कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

जग्गा अधिग्रहणसम्बन्धी काम पूरा हुनेबित्तिकै उक्त खण्डमा समेत रेलमार्ग निर्माण कार्य सुरु हुने भारतीय महावाणिज्य दूत बिसी प्रधानले बताए । प्रधानले रेलमार्ग निर्माणका लागि जग्गा क्लियर गरेर नेपाल सरकारले उपलब्ध गराइदिए करिब–करिब निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताए ।

१९९४ सालमा नेपाल सरकार र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको सम्झौताअनुसार महोत्तरीको वनबाट सालको काठ भारत ओसार्न जयनगर–जनकपुर–भंगहा ६९ किलोमिटर रेल सञ्चालन गरिएको थियो । उक्त वन समाप्त भएपछि २००७ सालदेखि मालवाहक रेल यात्रु ओसार्ने बोगी जडान गरी सञ्चालनमा ल्याइएको ओझाको भनाइ छ । सुरुमा कोइला इन्जिनबाट सञ्चालित उक्त रेल २०५१ सालदेखि डिजेल इन्जिनबाट चलाउन थालिएको थियो ।

पर्साको रक्सौल खण्डमा मुलुककै पहिलो रेल चले पनि जयनगर–जनकपुर रेल लामो समयसम्म मुलुककै एकमात्र रेलको परिचय बोकेको छ । २०७१ माघमा न्यारोगेज रेलमार्ग बन्द गरी ब्रोडगेज निर्माण कार्य सुरु गरिएको थियो ।

दुई मुलुकबीचको समझदारी अनुसार आगामी मंसिरसम्म ब्रोडगेज रेल सञ्चालनमा आए यो नेपालकै पहिलो ब्रोडगेज रेलमार्ग हुनेछ । जोगबनी–विराटनगर खण्डमा पनि रेलमार्ग निर्मााणको काम अघि बढेको छ ।